Technology Khabar ९ श्रावण २०८०, मंगलवार
काठमाडौं ।
बिक्री सुरु हुनु अघि टेस्लाको बहुप्रतिक्षित साइबरट्रकले ठूलो संख्यामा प्रि अर्डर प्राप्त गरेको छ। रिपोर्ट अनुसार साइबरट्रकले १९ लाख यूनिटभन्दा बढीको प्रि अर्डर प्राप्त गरेको छ। यी सबै अर्डरलाई डिलेभरी गर्न कम्पनीलाई करिब ४ वर्ष लाग्ने तासमानियाले उल्लेख गरेको छ।
टेस्लाको पहिलो साइबरट्रक टेक्ससको गिगा एसेम्बली लाइनबाट रोलआउट भएर केही यूनिटहरु सडकमा परीक्षणमा गएसँगै यस प्रति उपभोक्ताको चासो बढ्दो क्रममा देखिएको छ। साथै रिफन्डेबल १०० अमेरिकी डलरमा साइबरट्रक अग्रिम बुकिङ गर्न सकिने भएकाले यसो बुकिङ बढेको रिपोर्टमा उल्लेख छ।
साइबरट्रकलाई सन् २०१९ मा पहिलो पटक घोषणा गरिएको थियो। तर यसको उत्पादनमा धेरै पटक ढिलाइ भएको थियो। साइबरट्रकको प्रि–प्रोडक्सन सुरुमा २०२१ को अन्त्यमा सुरु हुने भनिएको थियो, तर कोभिड १९ महामारीको कारणले ढिलाइ भयो। घोषणा गरिएको करिब ५ वर्ष पछि भने साइबरट्रकका केही यूनिट उत्पादन भएको छ। यसको मास उत्पादन २०२४ देखि सुरु गर्ने अपेक्षा गरिएको छ।
कम्पनीले २०२३ को तेस्रो क्वाटरको अन्त्यमा साइबरट्रक ग्राहकलाई डेलिभरी गर्ने लक्ष्य राखेको छ। डेलिभरी समय नजिकैसँगै टेस्ला साइबरट्रकको ठूलो उत्पादनको तयारी सुरु गरिरहेको छ।
साइबरट्रकलाई पहिलो पटक प्रस्तुत गर्दा तीन भर्सनमा घोषणा गरिएको थियो। इन्ट्री लेभलको ३९ हजार ९०० अमेरिकी डलरको सिंगल मोटर भर्सनले २५० माइल रेञ्ज प्रदान गर्ने दाबी गरिएको थियो। ४९ हजार ९०० अमेरिकी डलरको डुअल मोटर भेरियन्ट साइबरट्रकले ३०० माइल रेञ्ज प्रदान गर्ने र ४।५ सेकेन्डमा ० देखि ६० माइल प्रति घण्टा गति लिन सक्षम छ।
६९ हजार ९०० अमेरिकी डलर मूल्यको टप भेरियन्ट साइबरट्रकमा तीन मोटर छ। टप भेरियन्टले ५०० माइल रेञ्ज प्रदान गर्नुका साथै २।८ सेकेन्डमा ० देखि ६० माइल प्रति घण्टा गति लिन सक्षम छ।
प्रकाशित: ९ श्रावण २०८०, मंगलवार