
काठमाडौं ।
भारतमा अनलाइन सट्टेबाजी एक व्यापारीका लागि यति महँगो भएको छ कि सुन्दा सबै छक्क पर्नेछन।भारतको नागपुरका एक व्यापारीले पहिलो जुवामा ५ करोड भारु जितेका थिए। तर यो माछाका लागि फ्याँकिएको चारो जस्तो भएको छ। भारु ५ करोड जितेपछि व्यापारीले अर्को पटक भारु ५८ करोड गुमाउनु परेको थियो।
उनले प्रहरीमा उजुरी दिएपछि प्रहरीले एकजना अभियुक्तलाई पक्राउ गर्ने प्रयास गरे पनि उनी फरार भएको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्।
अनलाइन जुवामा नागपुरका व्यापारीले ५८ करोड रुपैयाँ गुमाए। एनडीटीभीको समाचार अनुसार ती व्यापारीले अनन्त उर्फ सन्टु नवरत्न जैन नामक व्यक्तिको विरुद्ध ठगीमा परेको उजुरी दर्ता गराएका थिए। सोन्टुको घर नागपुरबाट १६० किलोमिटर टाढा गोन्डा सहरमा रहेको बताइएको छ। तर प्रहरीले छापा मार्नुअघि नै उनी त्यहाँबाट भागेर दुबई पुगेका थिए। प्रहरीले घटनास्थलबाट १४ करोड भारतीय रुपैयाँका साथमा ४ किलो सुनको बिस्कुट बरामद गरेको छ।
पहिलो पटक, जैनले पीडितलाई अनलाइन जुवामा ‘ट्राइ गर्ने’ प्रलोभन दिए। सुरुमा पीडित व्यापारी नर्भस भएपनि बिस्तारै आरोपितको भनाईमा लागेर ८ लाख रुपैयाँ जैनको खातामा ट्रान्सफर गरिदिए। जैनले व्यापारीलाई व्हाट्सएपमा एउटा लिङ्क पठाए र अनलाइन जुवा खाता खोल्नको लागि त्यहाँ जान आग्रह गरे। जहाँ व्यापारीले आफ्नो खातामा ८ लाख रुपैयाँ देखेर जुवा खेल्न थाले।
सुरुमा व्यवसायीले जुवामा जित्न थाले पनि ५ करोड जितेपछि ५८ करोड रुपैयाँ जुवामा हारे। व्यापारीलाई ठगीको आशंका लागेपछि उनले आफ्नो पैसा फिर्ता माग्न चाहे तर जैनले मानेनन्। त्यसपछि व्यापारीले साइबर प्रहरीमा उजुरी दिएका थिए ।
भारतीय दण्ड संहिता अन्तर्गत ठगीको मुद्दा दर्ता भएको छ। जैनको घरमा छापा मारेर प्रहरीले त्यहाँबाट १४ करोड रुपैयाँ नगद र ४ किलो सुनका बिस्कुट बरामद गरेको थियो। तर अभियुक्त फरार भईसकेका थिए।
प्रकाशित: ८ श्रावण २०८०, सोमबार