
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चालु आर्थिक वर्षभित्र देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट सेवा पुर्याउने तयारी गरिएको बताएकी छन्।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, प्रदेश मधेशले बाराको सिमरामा आयोजना गरेको टेलिकमको सेवा प्रवाह र सुधारसम्बन्धी छलफललाई सम्बोधन गर्दै उनले शिक्षालाई प्रविधियुक्त बनाउन देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट पुर्याउने तयारी गरिएको बताईन्। धेरै विद्यालयमा इन्टरनेट सुविधा पुगेको र बाँकी विद्यालय तथा सबै वडासम्म चालु आर्थिक वर्षभित्र इन्टरनेट पुर्याउने गरी तयारी गरिएको उनले बताए।
आफूले मन्त्रीको पद वहाली गर्दा राजमार्गलाई पूर्ण दूरसञ्चारयुक्त बनाउने पहिलो निर्णय गरेको जानकारी दिंदै मन्त्री शर्माले यो निर्णय कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताईन्। चालु आर्थिक वर्षमा हरेक प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चानयुक्त जिल्ला बनाउने सरकारले निर्णय गरिसकेकाले यो निर्णय प्रभावकारीरुपमा कार्यान्वयन गर्न उनले नेपाल टेलिकमलाई आग्रह गरिन्।
पूर्वाधार निर्माणका क्रममा सरकारी नियकायबिच समन्वय नहुँदा समस्या आउने गरेको उल्लेख गर्दै उहाँले सडक, खानेपानी, विद्युत, दूरसञ्चारका पूर्वाधार निर्माणमा समन्वयमा ध्यान दिन आग्रह गरिन। जंगल तथा निकुञ्ज क्षेत्रमा टेलिफोन अप्टिकल विस्तार र टावर निर्माणमा समस्या भएको गुनासो आएको वन मन्त्रालयसँग समन्वय गर्ने काम भइरहेको पनि मन्त्री शर्माले जानकारी दिईन।
उनले जहाँ बढी समस्या छ, त्यहाँ बढी सेवा दिनुपर्ने मान्यताका समस्या पहिचान गरी समाधानको खोजी गर्न मधेश प्रदेशबाट दूरसञ्चारको समस्या समाधानका लागि सुझाव संकलन अभियान सुरु गरिएको जानकारी दिईन्।
मधेश प्रदेशका बासिन्दाले देशको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेको उल्लेख गर्दै उहाँले देशकै सबैभन्दा धेरै जनसंख्या रहेको मधेश प्रदेशमा नेपाल टेलिकमले सेवाग्राही विस्तारका लागि प्रभावकारी अभियान चलाउनुपर्नेमा जोड दिईन् ।
कार्यक्रममा बारा, पर्सा, रौटहट र सर्लाहीका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिका प्रमुख तथा प्रतिनिधिहरुले आफ्नो क्षेत्रमा भएको टेलिकमको सेवा सुविधाबारे जानकारी गराउँदै सुधारका लागि सुझाव दिएका थिए। शुक्रवार मधेश प्रदेशका पूर्वी क्षेत्रमा रहेका चार जिल्ला सप्तरी, सिराहा, धनुषा र महोत्तरीका जनप्रतिनिधिसँग टेलिकमका सेवा सुविधाबारे जनकपुरमा छलफल गरिएको थियो ।
मर्मत संभारलाई विशेष सेवाको रुपमा विकास गर्ने टेलिकमको प्रतिबद्धताः नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीले भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न यस आर्थिक वर्ष २०८०/८१ मा मर्मत संभार कार्यलाई विशेष सेवाको रुपमा विकास गर्न आवश्यक रणनीति तथा कार्यक्रमहरु तयार गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताए। उनले मधेश प्रदेशका कुल ५५० भन्दा बढी स्थानबाट कम्पनीले जीएसएम प्रविधिको सेवा उपलब्ध गराइरहेको र विभिन्न स्थानबाट एफटीटीएच वितरण गरिरहेको जानकारी दिए।
मधेश प्रदेशमा जनसंख्या धेरै भएको र यसको अनुपातमा कम्पनीका प्रयोगकर्ता समेत बढाउनका लागि आवश्यक सहकार्य गर्न उनले आग्रह गरे।
नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय मधेश प्रदेशका निर्देशक अमुल प्रधानले कम्पनीले सो प्रदेशमा उपलब्ध गराइरहेको सेवा वारेमा जानकारी प्रदान गर्दै सेवा प्रयोग बढाउनका लागि सहकार्य गर्न आग्रह गरे।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव एवं नेपाल टेलिकमका कार्यवाहक अध्यक्ष बाबुराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्यहरु किसन श्रेष्ठ र ज्वालाकुमारी साह, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललगायतले धारणा राखेका थिए।
प्रकाशित: ६ श्रावण २०८०, शनिबार