सामाजिक सञ्जालमा स्ट्याटस लेख्दा साइबर क्राइमको आरोपमा पक्राउ

  • Technology Khabar | ६ श्रावण २०८०, शनिबार
सामाजिक सञ्जालमा स्ट्याटस लेख्दा साइबर क्राइमको आरोपमा पक्राउ
सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।

काठमाडौं ।

नेकपा (एमाले) को जनसङ्गठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य डिल्लीराज शर्माले चौरजहारी नगरपालिका-४ स्थित रेशम खोला दोहन विषयमा सामाजिक सञ्जालमा व्यक्त विचारलाई लिएर प्रहरीले पक्राउ गरेको छ।

रुकुमपश्चिमको चौरजहारी नगरपालिका-५ निवासी शर्मालाई जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले साइबर क्राइम गरेको आरोपमा पक्राउ गरेको आजको गोरखापत्रले समाचार प्रकाशित गरेको छ।

खोला दोहनमा एमबी कन्स्ट्रक्सन र चौरजहारी नगरपालिकाका पूर्वनगर प्रमुख विशाल शर्माको संलग्नता रहेको भनेर शर्माले सामाजिक सञ्जालमा अडियो तथा भिडियो सामग्री सार्वजनिक गरेका थिए।

रिपोर्टकाअनुसार उक्त कार्यमा आफ्नो कुनै संलग्नता नरहेको, रिसइबी साँध्नलाई सामाजिक सञ्जालको दुरुपयोग गरेको, मानमर्दन गरेको, सार्वजनिक प्रतिष्ठामा आँच आउने काम गरेको भन्दै पूर्वनगर प्रमुख शर्माले उनी विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए।

सोहो जाहेरीको आधारमा प्रहरीले डिल्लीराज शर्मालाई पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईकाअनुसार साइबर क्राइम मुद्दामा शर्मालाई पक्राउ गरिएको हो।

बुधबार नै अदालतबाट १० दिनको म्याद थपेर शर्मालाई थुनामा राखिएको छ।

उता नेकपा (एमाले) रुकुमपश्चिमले पार्टीको जनसङ्गठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य डिल्लीराज शर्मालाई रिहाइको माग गरेको छ।

पार्टीका जिल्ला अध्यक्ष नन्दराम देवकोटाले प्रेस विज्ञप्तिमार्फत शर्माको रिहाइको माग गरेका हुन्। विज्ञप्तिमा चौरजहारी नगरपालिका-५ स्थित रेशम खोला विगत आठ वर्षदेखि दोहन भइरहेको र उक्त कार्यको विरोधमा नागरिकस्तरबाट खबरदारी गरेको कार्यलाई राजनीतिक र शक्तिको आडमा कुल्चिने प्रयास भइरहेको समाचारमा जनाइएको छ।

प्रकाशित: ६ श्रावण २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार