
काठमाडौं ।
नेपाल टेलिकमले आफ्नो पोस्टपेड मोबाइलमा रोमिङ्ग सेवालाई थप सहज बनाएको छ। नेपाल टेलिकमको पोस्टपेड मोबाइलमा पनि अब अनलाइनमार्फत वा युएसएसडी (USSD) कोडबाट रोमिङ सेवा एक्टिभ गराउन सकिने भएको छ।
आफ्नो मोबाइलबाट *1415*7# डायल गरेर प्राप्त निर्देशन अनुसार रोमिङ सेवा प्राप्त गर्न सकिन्छ । यस अनुसार यो सेवाका लागि कम्पनीको काउन्टरमै पुग्नुपर्ने यस अघिको बाध्यता अब हटेको छ।
यो भन्दा पहिले नेपाल टेलिकमको नजिकको काउन्टरमा गई रोमिङ सुविधा उपलब्ध गराउन अनुरोध गरिएको फारम भरेर सेवा एक्टिभ गर्नसकिने व्यवस्था थियो। यद्यपि अहिले पनि आफूलाई सहज लागेमा काउन्टरबाट पनि सो सेवा उपलब्ध हुने जनाएको छ।
विदेशमा हुने ग्राहकहरुले रोमिङ सुविधाका लागि सिधै तोकिएको इमेल [email protected] मा नेपाल सरकारबाट जारी भएको परिचय पत्रको स्क्यान प्रति र सोही ईमेलबाट प्राप्त हुने फारम भरी सोको स्क्यान प्रति पठाएर सेवा सुचारु गराउन सकिनेछ।
उल्लेखित दुवै अवस्थामा सेवा सुचारु गराउन कम्तीमा ५ हजार रुपैयाँ एडभान्स क्रेडिट लिमिट सञ्चित हुनुपर्ने शर्त राखिएको छ।
पोस्टपेड मोबाइलका प्रयोगकर्ताहरुलाई बसेकै स्थानबाट सहजरुपमा सेवा दिने उद्देश्यले यो सुबिधा ल्याईएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।
“पहिले नेपाल टेलिकमका कुनैपनि कार्यालयमा गएर भौतिक उपस्थित भएर पोस्टपेड मोबाइलका प्रयोगकर्ताहरुले एक्टिभेट गराउनुपर्ने प्रावधान थियो तर अब बसेकै स्थानबाट अनलाइनमार्फत रोमिङ सेवा एक्टिभेट गराउन सकिन्छ,” उनले टेक्नोलोजीखबरसँग भने।
उनकाअनुसार प्रिपेडमा यो सुबिधा पहिलेदेखि नै उपलब्ध रहेको छ। र प्रिपेड सेवाग्राहीको ब्यालेन्स रकम भएसम्म रोमिङ प्रयोग गर्न सकिन्छ।
यस्तै पोस्टपेड मोबाइलका ग्राहकहरुले भने लिमिट रकमको ७० प्रतिशतसम्म प्रयोग गर्न सक्ने र त्यसपछि पुन रिचार्ज गर्नुपर्ने सिस्टम भएको बताईएको छ।
टेलिकमकाअनुसार यस्तो सुबिधा असार पहिलो सातादेखि नै उपलब्ध रहेको थियो।
अन्य देशमा समेत नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गर्न सकिने सुविधा नै अन्तर्राष्ट्रिय रोमिङ सेवा हो। यो सुविधा लिएपछि विदेश गएको समयमा पनि नेपाल टेलिकमकै मोबाइल नम्बर (सिम) प्रयोग गरी कल गर्न र उठाउन, इन्टरनेट चलाउन तथा एसएमएस पठाउन र प्राप्त गर्न सकिन् ।
टेलिकमकाअनुसार प्रिपेड मोबाइलमा भने यो सुविधा पहिलेदेखि नै उपलब्ध थियो। प्रिपेडमा पनि रोमिङ सेवा लिनका लागि मोबाइलबाट *1415*7# डायल गरेर त्यहाँ उपलब्ध रोमिङ सेवा सुचारु गर्ने विकल्प छनौट गर्नुपर्छ। त्यसैगरी नेपाल टेलिकम एपको प्रयोग गरेर पनि यो सेवा सुचारु गर्न सकिन्छ। तर यी कार्य नेपालबाट विदेश भ्रमण गर्नु पहिले नेपालमै भएको समयमा गर्नुपर्छ।
ग्राहक प्रिपेड मोबाइलसहित विदेशमै भएको अवस्थामा पनि रोमिङ सुविधाका लागि [email protected] मा नेपाल सरकारबाट जारी भएको परिचय पत्रको स्क्यान प्रति र सोही ईमेलबाट प्राप्त हुने फारम भरी सोको स्क्यान प्रति पठाएर सेवा सुचारु गराउन सकिने जनाएको छ।
प्रकाशित: २ श्रावण २०८०, मंगलवार