आजदेखि सूचना प्रविधिको क्षेत्रमा लाग्दैछ यस्तो कर

  • Technology Khabar | १ श्रावण २०८०, सोमबार
आजदेखि सूचना प्रविधिको क्षेत्रमा लाग्दैछ यस्तो कर

काठमाडौं ।

आज सोमबार साउन १ गतेदेखि चालु आर्थिक वर्ष २०८०/८१ सुरु भएसँगै नयाँ कर कार्यान्वयनमा आएको छ। चालु आर्थिक वर्षको लागि गत जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशसरण महतले आर्थिक ऐन २०८० जारी गरेका थिए। आर्थिक ऐनले गत आर्थिक वर्ष २०७९/८० मा विद्यमान सूचना प्रविधिको क्षेत्रमा लाग्दै आएको करका दरमा हेर फेर गरेको छ।

सफ्टवेयर निर्यात मार्फत प्राप्त हुने रकममा १० प्रतिशत कर

साउनदेखि विदेशमा बिजनेश प्रोसेस आउटसोर्सिङ, सफ्टवेयर प्रोगामिङ गरी विदेशी मुद्रा ल्याउँदा लाग्ने करमा गरिएको वृद्धि पनि सोमबारदेखि लागू हुनेछ । यसअघि यस्तो रकम ल्याउँदा एक प्रतिशत कर लाग्ने गरेकोमा सोमबारदेखि १० प्रतिशत कर लाग्ने व्यवस्था आर्थिक ऐनले गरेको छ ।

युट्यूबको आम्दानीमा कर

नेपालमा युट्यूब, टिकटकलगायतबाट हुने आम्दानीमा पनि साउन १ देखि कर बढेको छ। व्यवसाय सञ्चालन नगर्ने प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर, वा यस्तै विद्युतीय सेवा उपलब्ध गराएवापत वा नेपाल बाहिर परामर्श सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृष्य सामग्री अपलोड गरेवापत विदेशी मुद्रामा भुक्तानी प्राप्त अब ५ प्रतिशत कर तिर्नुपर्ने भएको छ।

गत आर्थिक वर्षसम्म त्यसरी पैसा प्राप्त गर्दा एक प्रतिशत कर मात्र तिर्नु पर्थ्यो। अब यस्तो प्रकृतिको भुक्तानी हुँदा बैंकले नै ५ प्रतिशत रकम कट्टा गरी भुक्तानी गर्नेछ।

ईकमर्श अपरेटरलाई १ प्रतिशत कर

ऋाजदेखि सुरु भएको चालु आर्थिक वर्षमा ईकमर्श अपरेटरमार्फत बिक्री गरेको वस्तु तथा सेवामा कर लाग्ने भएको छ। ईकमर्श अपरेटरमार्फत बिक्री गरेको वस्तु तथा सेवामा १ प्रतिशत कर लाग्नेछ।

ईकमर्श अपरेटरले वस्तु वा सेवाधनीलाई भुक्तानी गर्दा सो रकममा एक प्रतिशत अग्रिम कर कट्टी गर्नुपर्ने छ । यो व्यवस्थाले दराज लगायत ईकमर्श प्लेटफर्मबाट सामान बेच्ने वा पठाओ राइडरले १ प्रतिशत कर कट्टी गरेर मात्रै भुक्तानी पाउँछन्।

प्रकाशित: १ श्रावण २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार