आजदेखि पूँजी बजारमा केन्द्रितकृत डिजिटल केवाईसी लागू

  • Technology Khabar | १ श्रावण २०८०, सोमबार
आजदेखि पूँजी बजारमा केन्द्रितकृत डिजिटल केवाईसी लागू

काठमाडौं ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) आज साउन १ गतेदेखि पूँजी बजारमा केन्द्रितकृत डिजिटल केवाईसी लागू गर्ने भएको छ।

सीडीएससीले आफ्ना सदस्यहरूलाई यसअघि नै डिजिटल केवाईसी सिस्टम परीक्षण गर्न दिएको थियो। सबैले उक्त सिस्टम परीक्षण गरिसकेपछि साउन १ गतेदेखि पूर्ण कार्यान्वयनमा लैजान लागिएको हो।

केन्द्रिकृत डिजिटल केवाईसी लागू भएपछि ब्रोकर कम्पनी, मर्चेन्ट बैंकिङमा गएर डिम्याट र ब्रोकर खाता खोल्दा पटक पटक केवाईसी बुझाउनुपर्ने झन्झट अन्त्य हुनेछ।

अहिले डिम्याट खाता, ब्रोकर खाता खोल्दा सम्बन्धित कार्यालयमा गएर छुट्टाछुट्टै केवाईसी फाराम भर्नुपर्ने व्यवस्था छ। तर, केन्द्रितकृत डिजिटल केवाईसी सिस्टमले यो झन्झट हटाउने बताईएको छ।

लगानीकर्ताले एक पटक डिजिटल केवाईसीमा आवद्ध भएपछि उनीहरूले एउटा युनिक आईडी पाउने छन्। युनिक आईडी, डिम्याट वा ब्रोकर खाता खोल्दा प्रयोग गर्न सकिन्छ।

त्यसपछि नयाँ डिम्याट खाता वा ब्रोकर खाता खोल्दा पटक/पटक आफ्नो तीनपुस्ते विवरण भर्नुपर्ने छैन। युनिक आईडी दिए मात्रै पुग्नेछ।

डिजिटल केवाईसी सिस्टमको पहुँच सेवा प्रदायकले पाउने छन्। डिजिटल केवाईसी लिने ग्राहकको विवरण सिधैं सिस्टममा राख्न सक्ने छन् । त्यसपछि उक्त विवरण सीडीएससीको सर्भरमा आउने छ।

प्रकाशित: १ श्रावण २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...