
काठमाडौं ।
साइबर ब्यूरोले नाबालिकालाई अनलाइन ग्रुमिङ गरी दुर्व्यवहार गर्ने व्यक्तिलाई पक्राउ गरेको छ।
लक-डाउनको समयमा अनलाइन कक्षा लिन खोलेको सामाजिक सञ्जाल मार्फत मित्रताका लागि आएको अनुरोध नाबालिकाले स्वीकार गरेकोमा कुराकानी कै क्रममा पक्राउ परेका पीडकले म्यासेजिङ एप मार्फत पठाएको प्रेम प्रस्ताव स्वीकार गरी बोल्दै जाँदा निजले आफ्नो गोप्य अंग देखाई भिडियोकल गर्न दवाव दिने गरेको आरोप रहेको छ।
प्रहरीकाअनुसार आरोपीले भने बमोजिम नगरे प्रेम सम्बन्धको बारेमा पिडितका बुबा, आमा लगायत आफन्तहरूलाई बताई दिन्छु भनि धाकधम्की दिने गरेको र केही समय पश्चात् नाबालिकाको नाम र तस्विर सहितको नक्कली प्रोफाइलबाट दुबैबीच भएको अनलाइन कुराकानी सम्पादन गरी, अश्लील तस्विर र भिडियोमा जोडी, दिदी लगायत आफन्तहरूलाई पठाएका थिए।
उजुरीको आधारमा साइबर ब्यूरोले प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट कञ्चनपुर दोधारा चाँदनी नगरपालिका वडा नं. ४ बस्ने वर्ष १८ को विनोद सुनारलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा पक्राउ गरेको जानकारी दिएको छ।
आरोपितलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको सहयोगमा जेठ ३० गते कञ्चनपुरबाट पक्राउ गरी अदालतको आदेशले ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोका उप-निर्देशक पशुपति कुमार रायले उल्लेख गरेका छन्।
प्रकाशित: १ श्रावण २०८०, सोमबार