
काठमाडौं ।
युरोपेली संघ (ईयू) काउन्सिलले रिप्लेसेबल फोन ब्याट्री (फोनमा बदल्न मिल्ने ब्याट्री) अनिवार्य रुपमा समावेश गरिनु पर्ने नयाँ नियमलाई अनुमोदन गरेको छ। साथै ईयू संसदको अनुमोदनलाई पछ्याएको यस निर्णयले प्रयोगकर्ताहरूलाई विशेष उपकरण वा ज्ञानको आवश्यकता बिना नै सजिलो रुपमा ब्याट्री रिप्लेसमेन्ट (प्रतिस्थापन) गर्नका लागि सक्षम परेर सशक्त बनाउने लक्ष्य राखेको उल्लेख छ।
संसद र काउन्सिल दुबैले हस्ताक्षर गरेपश्चात नियमहरू ईयूको आधिकारिक जर्नलमा प्रकाशन भएको २० दिन भित्र लागू हुने बताइएको छ। यसले सन् २०२७ सम्ममा ईयू सदस्य देशहरूमा बिक्री गरिने सबै फोनहरूमा रिप्लेसेबल ब्याट्रीहरू हुनुपर्ने नियम तयार पार्नेछ।
यसबाट एप्पल र अन्य कम्पनीहरूका लागि ईयू देशहरूमा मात्र स्थायी ब्याट्रीहरू कायम राख्न चुनौतीपूर्ण र महँगो हुनसक्ने छ। एप्पलले क्षेत्रीय नियमहरूमा आफ्नो अनुकूलनताको संकेत गर्दै यस अघि नै ईयू निर्णयको प्रतिक्रियाको रुपमा यूएसबी–सी पोर्टहरू प्रस्तुत गर्ने बताइएको छ।
बदल्न मिल्ने ब्याट्रीहरूले उपभोक्ताहरूलाई पूर्णरूपमा चार्ज भएको ब्याट्रीहरूलाई चार्ज सकिएका ब्याट्रीहरूसँग बदल्न अनुमति दिएर थप सुविधा प्रदान गर्ने उल्लेख गरिएको छ। साथै निर्माताहरूसँग यो फिचरलाई समावेश गर्नका लागि २०२७ सम्मको समय रहेको छ।
उक्त नियमहरूले ब्याट्री रिसाइक्लिङ्ग र रिपर्पोजिङ्गको माध्यमबाट सर्कुलर अर्थतन्त्रलाई बढावा दिएर दिगोपनलाई बढावा दिने उल्लेख गरिएको छ। साथै यसले विद्युतीय सवारी र यातायातका हल्का साधनहरूको ब्याट्रीहरू जस्ता स्मार्टफोन भन्दा बाहिरका विभिन्न ब्याट्रीका प्रकारहरू कभर गर्ने उल्लेख गरिएको छ।
एप्पलको लागि यस परिवर्तनले रिप्लेसमेन्ट र एक्सटेन्डेड (प्रतिस्थापन र विस्तारित) ब्याट्रीहरूको बिक्रीबाट नयाँ राजस्व स्ट्रिमहरू सहित अप्रत्याशित फाइदाहरू ल्याउन सक्ने गीज्मोचाइनाले रिपोर्ट गरेको छ। प्रयोगकर्ताले पूर्ण चार्ज गरिएको ब्याट्री स्वाप गर्न सक्ने भएकाले यसले पोर्ट-लेस आईफोनको आफ्नो भिजनसँग पनि पङ्क्तिबद्ध हुने उल्लेख गरिएको छ। साथै प्रतिस्थापन योग्य ब्याट्रीहरू तर्फको ईयूको कदमले मोबाइल फोन उद्योगलाई पुनः आकार दिने बताइएको छ।
यसले विश्वव्यापी उत्पादकहरूलाई विकसित उपभोक्ता मागहरू पूरा गर्नका लागि आफ्नो डिजाइन रणनीतिहरूको पुनः मूल्याङ्कन गर्न प्रेरित गर्न सक्नेछ।
प्रकाशित: ३१ असार २०८०, आईतवार