काठमाडौँ महानगरपालिकाको सञ्चार तथा सूचना विधेयक, सञ्चार व्यवस्थापनदेखि डाटा सुरक्षाको विषयसम्म

Technology Khabar २७ असार २०८०, बुधबार

काठमाडौँ महानगरपालिकाको सञ्चार तथा सूचना विधेयक, सञ्चार व्यवस्थापनदेखि डाटा सुरक्षाको विषयसम्म
फाइल तस्बिर

काठमाडौं ।

काठमाडौँ महानगरपालिकाको १३ औँ नगर सभा चौथो बैठकमा सञ्चार तथा सूचना विधेयक २०८० सहित ३ वटा विधेयक पेश भएका छन् ।

राष्ट्रिय सभा गृहमा मंगलबार बसेको बैठकमा विधायन समितिका संयोजक मचाराजा महर्जनले, ‘सञ्चार तथा सूचना विधेयक २०८०’, ‘जनस्वास्थ्य सेवा विधेयक २०८०’ र ‘महानगर प्रहरी विधेयक २०८०’ पेश गरेका हुन्।

यस बाहेक अन्य विद्येयकहरु समेत पेश भएका छन्। बैठकको कार्य सूचीमा विविधसहित ८ वटा प्रस्ताव थिए।

सञ्चार तथा सूचना विधेयक

महानगरकाअनुसार सञ्चार व्यवस्थापन, तथ्याङ्क संकलन, खुल्ला तथ्याङ्क वितरण, विचार र अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकलाई प्रत्याभूत गराउन यो विधेयक ल्याइएको बताईएको छ। पत्रकारिता, प्रकाशन तथा प्रसारण, विज्ञापन व्यवस्थापन लगायतका विषय विधेयकमा समेटिएको छ।

महानगरकाअनुसार १० ओटा परिच्छेद रहेको विधेयकमा ६७ दफा छन् । सञ्चार माध्यमको व्यवस्थापन, सञ्चार रजिष्ट्रार र सञ्चार प्रतिष्ठान, जनशक्ति र आन्तरिक सञ्चार व्यवस्थापन, पत्रकारिताको विकास र प्रबर्द्धन, विज्ञापन नियमन, प्रवर्धन र व्यवस्थापन, सूचनाको हक कार्यान्वयन, सूचना, अभिलेख र तथ्याङ्क व्यवस्थापन विधेयकमा समेटिएका मुख्य विषय हुन्।

यसअन्तर्गन प्रकाशन, प्रसारणको अभिलेखन, प्रेस पास जारी, सूचना केन्द्र, वेबसाइट, इमेल, सामाजिक सञ्जालको प्रयोग, प्रवक्ता, सहायक प्रवक्ता, सूचना अधिकारीको व्यवस्था, सञ्चार संस्था, पत्रकार र कर्मचारीको सुरक्षा लगायत व्यवस्था छन्।

स्थानीय भाषा, संस्कृतिलाई विशेष सुविधा, पत्रकारिता अनुसन्धानलाई प्रोत्साहन, विज्ञापन व्यवस्थापन र वितरण, लोककल्याणकारी विज्ञापन, राष्ट्रिय र प्रदेश तथ्याङ्क प्रणालीमा आवद्धता, तथ्याङ्कमा आधारित नवप्रवर्तन, सीसीटिभी जडान र डाटा सुरक्षाको विषयलाई विधेयकमा समेटिएको छ। बौद्धिक सम्पत्ति, पारिश्रमिक सम्बन्धी व्यवस्था विधेयकमा समावेश रहेको उल्लेख छ।

संविधानले स्थानीय तहलाई दिएको सूचना, सञ्चार तथा तथ्याङ्क अभिलेख सम्बन्धी एकल र साझा अधिकारको प्रयोगलाई प्रभावकारी बनाउन आवश्यक पर्ने संस्थागत प्रबन्ध, समन्वय र सहकार्य, सार्वजनिक महत्वका विषयमा जानकारी लिन सूचनाको पहुँच जस्ता विषय विधेयकमा राखिएको महानगरपालिकाले जनाएको छ।

प्रकाशित: २७ असार २०८०, बुधबार

तपाइको प्रतिक्रिया