
काठमाडौं ।
भारतीय उद्योग समूह टाटा समूहले आईफोन १४ एसेम्बल गर्ने सुविधा भएको विस्ट्रोन कर्पोरेशनको कर्नाटक कारखाना प्राप्त गर्ने अन्तिम अवस्थामा रहेको बताइएको छ।
सो अधिग्रहण सफल भएको खण्डमा घरेलु बजारको लागि मात्र नभएर विश्वव्यापी वितरणको लागि आईफोनहरू उत्पादन गर्ने टाटा पहिलो भारतीय कम्पनी हुने उल्लेख गरिएको छ।
आगामी अगस्ट महिना सम्ममा फाइनलाइज हुने अपेक्षा गरिएको उक्त सम्झौता प्रधानमन्त्री नरेन्द्र मोदीको मेड–इन–इन्डिया पहलद्वारा अगाडि बढाईएको भिजन हुनुका साथै हार्डवेयर उत्पादनमा एक अग्रणी खेलाडीको रूपमा स्थापित गर्नको लागी भारतको ड्राइवको एक हिस्सा भएको टाइम्स अफ इण्डियामा उल्लेख गरिएको छ।
हाल ६०० मिलियन डलरको मूल्य रहेको कर्नाटक कारखानामा १०,००० भन्दा बढी कर्मचारीहरू कार्यरत रहेको उल्लेख छ। विद्यमान सम्झौताको एक भागको रूपमा विस्ट्रोनले २०२४ को मार्च महिनासम्ममा चालू आर्थिक वर्षमा १.८ बिलियन डलर मूल्यको आईफोनहरू डेलिभर गर्न प्रतिबद्ध रहेको बताइएको छ।
साथै अर्को वर्षमा तीन गुणा कार्यबल विस्तार गर्ने योजनामा पनि रहेको उल्लेख गरिएको छ। त्यसैगरी टाटा समूह उक्त प्रतिबद्धताहरू पूरा गर्न सहमत भएको बताइएको छ।
धेरै टेक फर्महरूले आफ्नो हाई–इन्ड डिभाइसहरु एसेम्बलको लागि चीनको विकल्प खोजिरहेको हुनाले विश्वव्यापी उत्पादन गतिशीलता परिवर्तनको सन्दर्भमा यो अधिग्रहण महत्त्वपूर्ण भएको बताइएको छ।
एप्पलले नयाँ उत्पादन केन्द्रको रूपमा विशेष गरी भारतमा ध्यान केन्द्रित गरीरहेको छ। साथै उक्त कदम स्मार्टफोनलगायत इलेक्ट्रोनिक्सको घरेलु उत्पादनलाई प्रवर्द्धन गर्न भारतको आक्रामक कर प्रोत्साहनसँग मेल खाएको उल्लेख छ।
यसबाहेक, भारतले स्थानीय उत्पादन सुविधाहरू स्थापना गर्न सामसङ, शाओमी र भिभो जस्ता अन्य प्रमुख स्मार्टफोन निर्माताहरूलाई आकर्षित गरेको छ। यस वर्षको अप्रिल र मे महिनामा आईफोनको निर्यात समावेश रहेको भारतबाट स्मार्टफोनको निर्यातमा १२८ प्रतिशतले वृद्धि भएको देखिएको छ।
प्रकाशित: २७ असार २०८०, बुधबार