
काठमाडौं ।
नेपालगन्जबाटै पश्चिम नेपालका सबै जिल्लाको मौसम पुर्वानुमान जानकारी हुन थालेको छ। नेपालगन्ज विमानस्थलमा मौसम पूर्वानुमान जानकारी गराउने डिजिटल प्रणाली जडान गरिएपछि विहानै यहाँबाट पश्चिम नेपालको दिनभरिको मौसमबारे जानकारी हुन थालेको हो।
पश्चिम नेपालका विभिन्न पहाडी र हिमाली जिल्लामा हुँदैआएको हवाई उडानलाई सहज र सुरक्षित बनाउन नेपालगन्ज विमानस्थलमा मौसम पूर्वानुमान जानकारी दिने डिजिटल प्रणाली जडान गरिएको छ।
नागरिक उड्डयन कार्यालय नेपालगन्जका अनुसार नागरिक उड्डयन प्राधिकरण, प्राधिकरणको मौसम पुर्वानुमान महाशाखा र जल तथा मौसम विभागको सहकार्यमा उक्त प्रणाली जडान गरेर सञ्चालनमा ल्याइएको छ।
यसअघि मौसम पुर्वानुमानसम्बन्धि जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको मौसम पूर्वानुमान महाशाखाले दिनेगरेको थियो भने अहिले नेपालगन्जमै डिजिटल प्रणाली जडान गरिएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट सो जानकारी दिन थालिएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हवाई मौसम केन्द्रका वरिष्ठ मौसम विज्ञ शुभाष रिमालले नेपालगन्ज आन्तरिक हवाई उडानको हब नै भएकाले पहाडी र हिमाली जिल्लामा हुने उडानलाई सहज सरल र सुरक्षित बनाउन मौसम पुर्वानुमान डिजिटल प्रणाली जडान गरिएको बताए।
उनले नागरिक उड्डयन कार्यालयको बारम्बारको आग्रहमा सो प्रणाली सञ्चालनमा ल्याएर हरेक दिन विहान साढे ५ बजेदेखि ६ बजेसम्म विभिन्न एअरलाइन्सलगायत सम्बद्धलाई मौसम पूर्वानुमानको जानकारी गराउने गरिएको बताए।
वरिष्ठ मौसमविज्ञ रिमालले भने, ‘विहान दिनभरिको मौसमसम्बन्धि जानकारी पाएपछि एअरलाइन्सलाई उडान तालिका बनाउन तथा उडान गर्न सहज र सरल हुन थालेकोछ । यसले हवाई उडानलाई सुरक्षित बनाउन पनि सहयोग गर्नेछ।’
यो प्रणालीमार्फत सुर्खेत, हुम्ला, जुम्ला, मुगु, रुकुमको सल्ले, बाजुरा, बझाङ्गलगायत विभिन्न ठाउँको दिनभरिको मौसमी जानकारी प्राप्त भइरहेको छ। गोरखापत्रबाट
प्रकाशित: २५ असार २०८०, सोमबार