सम्पूर्ण सिनेमाहलहरुले अनलाइनबाटै नवीकरण दस्तुर तिर्नुपर्ने, यस्तो छ भूक्तानीको प्रकृया

  • Technology Khabar | २४ असार २०८०, आईतवार
सम्पूर्ण सिनेमाहलहरुले अनलाइनबाटै नवीकरण दस्तुर तिर्नुपर्ने, यस्तो छ भूक्तानीको प्रकृया

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल राज्यभित्र सञ्चालनमा रहेका चलचित्रघरहरूले नवीकरण गर्दा अनलाइनमार्फत राजस्व भुक्तानी गर्न निर्देशन दिएको छ। मन्त्रालयले चलचित्र विकास बोर्डमार्फत सबै सिनेमाहलहरुलाई नवीकरण दस्तुर अनलाइनमार्फत नै तिर्न भनेको हो।

चलचित्रघरहरूले आवधिक नवीकरण गर्दा प्रचलित नेपाल कानून बमोजिम नेपाल सरकारलाई बुझाउनुपर्ने नवीकरण दस्तुर/राजस्व रकम महालेखा नियन्त्रक कार्यालयको राजस्व पोर्टल उपयोग गरी आफू रहे बसेकै स्थानबाट अनलाइन बुझाउन सक्ने गरी ब्यवस्था मिलाउन मन्त्रालयले लेखापरीक्षण तथा आन्तरिक नियन्त्रण समितिको निर्णयलाई उदृत गर्दै भनेको छ।

यसका साथै बोर्डबाट सबै चलचित्रघरहरूमा नवीकरणका निमित्त आवश्यक पर्ने कागजातहरू आफ्नो कार्यालय अभिलेखमा प्राप्त हुने गरी अपलोड गर्न लगाई दाखिला गर्नुपर्ने राजस्व रकम यकिन गरी पठाइदिन भनेको छ।

मन्त्रालयले दाखिला गर्नुपर्ने राजस्व रकम महालेखा नियन्त्रक कार्यालयको राजस्व पोर्टल उपयोग गरी अनलाइन आफू रहे बसेकै स्थानबाट दाखिला गर्न लगाउने भन्दै यस निम्ति इन्टरनेट जोडिएको डेस्कटप वा ल्यापटप कम्प्युटरमा यस कामका लागि तोकिए अनुसारको अपरेटिङ्ग प्रोसेड्यूर उल्लेख गरी पत्राचार गर्नसमेत सुझाब दिएको छ।

यसरी गर्न सकिन्छ महालेखा नियन्त्रक कार्यालयको राजस्व पोर्टल उपयोग गरी राजस्व दाखिला

  • सबैभन्दा पहिले गुगल क्रोम वा कुनैपनि इन्टरनेट ब्राउजर खोल्ने
  • त्यहाँ महालेखाको राजस्व पोर्टल “revenue.fcgo.gov.np” को एड्रेस टाइप गर्ने।
  • त्यसमा सेवा प्रदायकले आफ्नो मोबाइल नम्बर राखेर साइन इन गर्ने। यसपछि तत्काल मोबाइलमा ओटीपी आउनेछ।
  • सो ओटीपी नम्बर राख्ने र भेरिफाई गर्ने।
  • यसपछि सिधै सो ब्राउजरमा तल दाहिने भागमा देखिने “रद्द गर्नुहोस्” मा मात्र क्लिक गर्नुहोस्। तर त्यसमा भएको “प्रयोगकर्ता विवरण” मा कुनै डाटा  नराख्नुहोस्।
  • अब फेरी “नयाँ भौचर ” ट्याबमा जानुहोस्।
  • त्यसपछि “सङ्घीय सरकार” लेखिएकोमा क्लिक गर्नुहोस्।
  • अब “नयाँ राजस्व भूक्तानी” भित्र रहेको सर्च बक्समा ३५ टाइप गर्नुहोस् र सर्कल छनोट गर्नुहोस् त्यसपछि नयाँ सर्च बक्स आउनेछ र त्यसमा ३५८००३५०१ टाइप गरेर त्यसलाई छनोट गर्नुहोस र “नयाँ” लेखिएको बटमा क्लिक गर्नुहोस् । त्यसपछि नयाँ स्क्रीन देखिनेछ र त्यसमा जानुहोस्।
  • त्यसपछि तपाईँले रसिद प्रविष्टि स्क्रीन देख्नुहुनेछ। अब  तपाईँले दाहिने भागमा दस्तुर तिर्ने आफ्नो संस्थाको पान नम्बर हाल्नुहोस्। यहाँ “अंग्रेजी नाम” बाहेक सबै बिबरणहरु डीफल्टमा हुनेछन्। जसमा तपाईँको कम्पनीको अंग्रेजीमा नाम लेख्नुहोस्। अब यसपछि दोस्रो पङ्क्तिको पहिलो स्तम्भ वा कोलममा एभरेष्ट बैंक वा राष्ट्रिय बाणिज्य बैंक छनोट गर्नुहोस्। त्यसपछि अन्तिम लाइनमा जानुहोस् र “शीर्षक” ड्रप डाउन एरोमा क्लिक गर्नुहोस् र “१४२२९ फ्रिक्वेन्सी सम्बन्धित राजस्वका लागि अन्य प्रशासकीय सेवाहरू र १४१५९ राजस्व रोयल्टी सम्बन्धित राजस्वका लागि अन्य स्रोतबाट प्राप्त बाँडफाँड नहुने” चयन गर्नुहोस्। अब “बिबरण” बक्समा तपाईँले “सम्बन्धित आर्थिक वर्षको लागि फ्रिक्वेन्सी शुल्क वा रोयल्टी(frequency fee or royalty for the related fiscal year)” टाइप गर्नुहोस्, त्यसपछि “रकम” लेखिएको बक्समा आवश्यक राजस्व रकम प्रविष्ट गर्नुहोस्।  “कर वर्ष” को रूपमा २०७९/८० चयन गर्नुहोस् त्यसपछि “नेक्स्ट (Next)” बटनमा क्लिक गर्नुहोस्।
  • अब तपाईँ “भूक्तानीकर्ता विवरण” मा पुग्नुहुनेछ। यहाँ “सेभ गर्नुहोस् र भूक्तानी गर्नुहोस्” बटनमा क्लिक गर्नुस् र “पे नाउ pay now” बटन थिच्नुहोस्।
  • यदि तपाईँसँग ईसेवा अथवा कनेक्ट आईपीएस छ भने सिधै निशुल्क प्रयोग गरेर रकम तिर्नसक्नुहुनेछ। अन्यथा तपाईँ फेरी पहिलो स्क्रीनमा जानुपर्नेछ। यहाँ तपाईँले “क्लिक टू गो ब्याक”मा क्लिक गरेर तथा माथिल्लो भागको कुनामा रहेको होल्ड गरेर हिस्ट्रि एरो हेर्न सक्नुहुनेछ। यसले तपाईँलाई चार कदम पछाडि लग्नेछ। त्यसपछि तपाईँले “भूक्तानी नगरिएको भौचर” मा जानुपर्नेछ। यस भौचरलाई प्रिन्ट गर्नसक्नुहुनेछ। यसको लागि दायाँ भागमा रहेको “कार्यहरू” को मुनि रहेको प्रिन्ट आईकनमा क्लिक गरेर हार्डकपी प्राप्त गर्नसक्नुहुनेछ।
  • उक्त प्रिन्ट गरिएको भौचरका साथमा तपाईँले बैंक काउन्टरमा गएर नेपाल दूरसञ्चार प्राधिकरणले वा सञ्चार मन्त्रालयले बताएअनुसार राजस्व रकम जम्मा गराउन सक्नुहुनेछ।
  • भौचर प्रिन्ट गरिसकेपछि उक्त स्क्रिनबाट साइन आउट गर्न नबिर्सनुहोला। नत्र तपाईँले अर्को पटक यस्तै राजस्व रकम दाखिला गर्न र बिबरण भर्ने बेलामा दु:ख पाउनुपर्ने हुनसक्छ।

पत्रअनुसार यसरी राजस्व तिरेकाहरुको मन्त्रालयबाट नगदी रसिद सम्बन्धित राजस्व दाखिलाकर्तालाई निजको ठेगानामै र बोर्डमा सोझै विवरणसहित उपलब्ध गराउने छ भने बोर्डले यसरी राजस्व बुझाएका सम्बन्धित सिनेमाहलहरूको नवीकरण भएको जानकारी मन्त्रालयमा उपलब्ध गराउनुपर्नेछ।

प्रकाशित: २४ असार २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...