
काठमाडौं ।
सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले आफ्नो नाम दूरुपयोग गरेर सामाजिक सञ्जाल चलाईएको भन्दै साइबर ब्यूरोमा उजुरीको तयारी गरेको छ।
समितिले आज ट्विटरमा अनधिकृतरुपमा राससको नाम दूरुपयोग गर्दै विभिन्न विषयहरु जथाभावी लेखिएको भन्दै त्यसका विरुद्ध कानूनी कारबाहीमा जाने बताएको छ।
शनिवार बिहान राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पूर्व राजा ज्ञानेन्द्र शाहलाई जन्मदिनको शुभकामना दिँदै “छिटोभन्दा छिटो राजगद्दीमा देख्न पाइयोस्!,” भन्ने सन्देश आफ्नो ट्विटर एकाउन्टमा लेखेका थिए।
उक्त स्ट्याटसमा राष्ट्रिय समाचार समिति नामक ट्विटर ह्याण्डलले प्रतिकृया दिएकोमा सामाजिक सञ्जालमा चर्चा र विरोध भएको छ।
उक्त ह्याण्डलले मिश्रको स्टयाटस रिट्वीट गर्दै लेखेको छ, “रोएको नाटक गरेर मात्रै राजतंत्र फर्कदैन्। बरू रत्नपार्कमा बसेर साँच्चिकै रोइदिम दाजु।”

उक्त स्ट्याटसका कारण अधिकांश सामाजिक संजाल प्रयोकर्ताहरु झुक्किएसँगै राससका महाप्रबन्धक सिद्धराज राईले सो ट्विटर ह्याण्डल बन्द गर्न आग्रह गरेका छन भने यसमा अनुसन्धान हुँदै गएको बताएका छन्।
उनले यस बारेमा आइतबार नै साइबर ब्यूरोमा उजुरी दिने तयारी गरिएको टेक्नोलोजीखबरसँग बताए।।
“आज हाम्रो नामको ट्विटर एकाउन्टबाट विभिन्न विषय लेखिएको देखिएको छ। हाम्रा कुनैपनि सामाजिक सजाल एकाउन्ट छैनन्,” उनले टेक्नोलोजीखबरसँग भने, केहि समयअघि फेसबुक थियो । त्यो पनि अहिले निष्क्रिय जस्तै छ।”
राससले उक्त एकाउन्ट आफ्नो नभएको बताएपनि उक्त एकाउन्ट तत्कालिन समयमा राससकै पूर्व अधिकारीहरुले प्रयोग गरेको बताईएको छ। सो एकाउन्ट अझै पनि पूर्व अधिकारीको नाममा रहेको आशंका गरिएको छ।
उक्त ह्याण्डलले राससकै लोगो प्रयोग गरेको छ भने ह्याण्डल नाम पनि सोही राखेको छ। आज बिहानसम्म लोगो राखेकोमा हाल राससको सो लोगो हटाईएको छ भने नाम र ठेगाना समेत परिवर्तन गरेको देखिन्छ।
प्रकाशित: २३ असार २०८०, शनिबार