अमेरिकाले चीनसँग ‘बिजयीले सबै लाने’ प्रतिस्पर्धा नचाहेको अर्थमन्त्री येलेनको भनाइ

  • Technology Khabar | २३ असार २०८०, शनिबार
अमेरिकाले चीनसँग ‘बिजयीले सबै लाने’ प्रतिस्पर्धा नचाहेको अर्थमन्त्री येलेनको भनाइ

काठमाडौं ।

अमेरिकी अर्थमन्त्री जेनेट येलेन र चिनियाँ प्रधानमन्त्री ली खछ्याङबीच शुक्रबार बेइजिङमा भएको भेटवार्ता गरेका छन्। भ्रमणका क्रममा अमेरिकाले ‘जित्नेले सबै पाउने’ प्रतिस्पर्धा नचाहेको बताए।

येलेनको चार दिने चीन भ्रमण ट्रेजरी प्रमुखको रूपमा उनको पहिलो चीन भ्रमण हो र उनी गत महिना विदेशमन्त्री एन्टोनी ब्लिन्केनपछि हालै मात्र चीन भ्रमण गर्ने दोस्रो उच्च पदस्थ अमेरिकी अधिकारी हुन्।

भेटमा येलेनले चिनियाँ प्रधानमन्त्री लीलाई संयुक्त राज्य अमेरिकाले आर्थिक प्रदर्शन गर्न नचाहेको बताएका थिए । बेइजिङको ‘ग्रेट हल अफ द पिपुल’मा उहाँले लीलाई सम्बोधन गर्दै भने, “सबै विजेताले पाउने नियमका आधारमा होइन दुवै देशलाई फाइदा पुर्याउने नियमका आधारमा हामी दुई देशबीचको स्वस्थ आर्थिक प्रतिस्पर्धा चाहन्छौं ।”

संयुक्त राज्य अमेरिकाले वासिङ्टनको राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण मानिएको उन्नत प्रविधिमा विश्वको दोस्रो ठूलो अर्थतन्त्रको पहुँचसीमित गरेर चीनबाट ‘जोखिम कम गर्न’ खोजिरहेको बताएको छ। अमेरिकाले धेरै चिनियाँ कम्पनीहरूलाई सबैभन्दा उन्नत चिप्समा पहुँचबाट रोक्नका लागि कालोसूचीमा राखेको छ भने आफ्ना सहयोगीहरूलाई पनि यसको अनुसरण गर्न दबाब दिएको छ।

तर येलेनले प्रधानमन्त्री लीलाई वासिङ्टनले ‘केही परिस्थितिमा आफ्नो राष्ट्रिय सुरक्षाको रक्षाका लागि लक्षित कदम चाल्नुपर्ने’ बताएका थिए। उनले भने, “यस्ता घटनामा हामी असहमत हुन सक्छौं । तर, हामीले कुनै पनि असहमतिले हाम्रो द्विपक्षीय आर्थिक र वित्तीय सम्बन्धलाई अनावश्यक रूपमा बिगार्ने असमझदारी निम्त्याउन दिनु हुँदैन ।”

लीले कठिन समयपछि बेइजिङले सम्बन्ध सुधार भएको देख्न सक्ने बताए। लीले अमेरिका चीन सम्बन्धमा सुधारको सङ्केत गर्दै भने, “हिजो जब तपाईं हाम्रो विमानस्थलमा आइपुग्नुभयो र विमानबाट बाहिर निस्कनुभयो, हामीले इन्द्रेणी देख्यौं ।” उनले प्रसँगलाई जोड्दै अगाडि भने, “चर्को हावा र वर्षाको एक चरण अनुभव गरेपछि हामी शान्त इन्द्रेणी देख्न सक्छौं । यो अमेरिका–चीन सम्बन्धमा पनि लागू हुन सक्छ।”

येलेनले आफ्नो भ्रमणका क्रममा वासिङ्टनले ‘हाम्रो अर्थतन्त्रको थोक पृथक्करण’ नचाहेको बताएका थिए। बेइजिङमा अमेरिकी चेम्बर अफ कमर्शले आयोजना गरेको एक सत्रमा येलेनले अमेरिकी व्यवसायका प्रतिनिधिहरूसँगको बैठकमा भने, “विश्वका दुई ठूला अर्थतन्त्रलाई टुक्र्याउने हो भने विश्व अर्थतन्त्रले अस्थिरताको सामना गर्नेछ। यो लगभग असम्भव हुनेछ।”

बेइजिङले येलेनको भ्रमणअघि राष्ट्रिय सुरक्षाको आधारमा सेमीकन्डक्टर उत्पादनका लागि महत्वपूर्ण धातुहरूमा नयाँ निर्यात नियन्त्रणको घोषणा गरेको थियो । अमेरिकी अर्थमन्त्रीले शुक्रबार अमेरिकी व्यवसायीहरूलाई वासिङ्टन प्रतिबन्धको बारेमा ‘चिन्तित’ रहेको बताएका थिए।

तनावका बावजुद बेइजिङ भ्रमणबाट सकारात्मक नतिजा निस्कनेमा आशावादी छ र शुक्रबार चीनको अर्थ मन्त्रालयले भ्रमणले ‘दुई देशबीचको सञ्चार र आदानप्रदानलाई मजबुत बनाउने’ बताइसकेको छ।

“चीन–अमेरिका आर्थिक र व्यापारिक सम्बन्धको प्रकृति पारस्परिक लाभप्रद र लाभकारी छ र व्यापार युद्ध वा ‘डिकप्लिङ र ब्रेकिङ चेन’ मा कोही पनि विजेता हुँदैन,” मन्त्रालयका एक अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

शुक्रबार बिहान येलेनले आफ्ना पूर्व समकक्षी तथा पूर्व उपप्रधानमन्त्री लिउ हे र चीनको केन्द्रीय बैंकका निवर्तमान गभर्नर यी गाङसँग ‘ठोस कुराकानी’ गरेको अमेरिकी ट्रेजरीका एक अधिकारीले बताए। “उनीहरूले विश्वव्यापी आर्थिक दृष्टिकोणका साथै संयुक्त राज्य अमेरिका र चीनका लागि सम्बन्धित आर्थिक दृष्टिकोणका बारेमा छलफल गरेका थिए,” अमेरिकी अधिकारीले बताए।

विश्लेषकहरूले येलेनको भ्रमणले सम्बन्धलाई न्यानो बनाउन मद्दत गर्नसक्ने बताएका छन्। चाइनिज एकेडेमी अफ सोसल साइन्सेजका ताओ वेन्झाओले भ्रमणबारे एएफपीसँग भने, “येलेन वास्तवमा बाइडेन प्रशासनको व्यवहारिक र वार्तामा सफल सदस्य जस्तो देखिनुहुन्छ ।”

“हामी येलेनको भ्रमणलाई स्वागत गर्दछौं र यसले कार्यात्मक स्तरमा दुबै पक्षलाई एक अर्कालाई न्यानो बनाउन अनुमति दिनुपर्छ भन्ने मलाई लाग्छ,” उनले भने, “हामी अहिले चीन–अमेरिका सम्बन्धलाई नयाँ आकार र पुनः निर्माण गर्दैछौं ।”

बिहीबार बेइजिङ अवतरणपछि ट्वीट गर्दै येलेनले अमेरिकाले आवश्यक पर्दा आफ्नो राष्ट्रिय सुरक्षाको रक्षा गर्ने भए पनि ‘यो भ्रमणले संवाद गर्ने र गलत सूचना वा बुझाइबाट बच्ने अवसर प्रदान गरेको’ बताएका थिए।

संयुक्त राज्य अमेरिकाले यस पटक विशेष नीतिगत सफलताको अपेक्षा गरेको छैन, तर भविष्यमा वार्ताका लागि मार्ग प्रशस्त गर्न सक्ने स्पष्ट र फलदायी कुराकानीको आशा गरेको छ, अमेरिकी ट्रेजरीका एक अधिकारीले बिहीबार पत्रकारहरूसँग भने।

उनीहरूले भने, “विशेष गरी हामी असहमतिका बुँदाहमा छलफल गर्छौ भने यो अझ महत्वपूर्ण हुनेछ ।” यस वर्षको सुरुमा संयुक्त राज्य अमेरिकाले ‘चिनियाँ जासुसी बेलुन’ लाई अमेरिकी आकाशबाट खसालेपछि दुई अर्थतन्त्रबीचको विवाद थप तनावपूर्ण बनेको थियो । ब्लिन्केनले उक्त घटनापछि आफ्नो चीन भ्रमण रद्द गरेका थिए तर अन्ततः गत जुनमा उनले चीनको भ्रमण गरेका थिए। उक्त भ्रमणका क्रममा दुवै पक्षले आफ्नो सम्बन्धलाई स्थिर बनाउने विषयमा सहमति जनाएका थिए।

तर येलेनले बेइजिङका अधिकारीहरूलाई उच्च–अन्त सेमीकन्डक्टरहरूमा कडा निर्यात प्रतिबन्धहरू लगाउने अमेरिकी कदमहरू राष्ट्रिय सुरक्षाको रक्षा गर्ने उद्देश्यले भएको तर चीनको आर्थिक वृद्धिलाई दबाउने प्रयास नभएका भनेर आश्वस्त पार्न कठिन संघर्षको सामना गर्नुपरेको छ।

‘द वाल स्ट्रिट जर्नल’का अनुसार अमेरिकी प्रशासनले अमेजन र माइक्रोसफ्टजस्ता कम्पनीले प्रदान गर्ने अमेरिकी क्लाउड कम्प्युटिङ सेवामा चिनियाँ कम्पनीहरूको पहुँचमा प्रतिबन्ध लगाउने विचार गरिरहेको छ। रासस

प्रकाशित: २३ असार २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार