
काठमाडौं ।
करिब दुई वर्षदेखि फाइभजी सेवाको परीक्षण गर्ने अनुमति प्राप्त गरेको सरकारी स्वामित्वको नेपाल टेलिकम (एनटीसी) सँग नियामक नेपाल दूरसञ्चार प्राधिकरणले फ्रिक्वन्सी (स्पेक्ट्रम) फिर्ता गर्नुपर्ने समय सीमा तोकिदिएको छ।
प्राधिकरणले असार १८ गते प्रकाशन गरेको नेपालमा मोबाइल सेवामा फ्रिक्वेन्सी प्रयोगको वर्तमान अवस्था र भावी योजना सम्बन्धी अवधारणा पत्र/स्वेत पत्रमा फाइभजी परीक्षणका लागि उपलब्ध गराएको फ्रिक्वेन्सी फिर्ता गर्नुपर्ने समय सीमा उल्लेख गरिएको छ।
स्वेत पत्रका अनुसार फाइभजी परीक्षणका लागि नेपाल टेलिकमलाई उपलब्ध गराइएको २६०० मेगाहर्ज ब्याण्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सीको समयसीमा आउँदो १ जनवरी २०२४ अर्थात २०८० पुस १८ गतेदेखि समाप्त हुँदैछ।
नेपाल दूरसञ्चार प्राधिकरणको कात्तिक २९ गते बसेको बोर्ड बैठकले टेलिकमलाई फाइभजी परीक्षणको लागि फ्रिक्वेन्सीसहित अनुमति दिएको थियो।
नेपाल टेलिकमलाई फाइभजीको परीक्षण अनुमति प्रदान गर्दा नै पछि फ्रिक्वन्सी फिर्ता गर्नुपर्ने सर्तसमेत राखिएको थियो। साथै उक्त फ्रिक्वेन्सी व्यावसायीक प्रयोजनका लागि भन्दा पनि परीक्षणका लागि मात्र उपलब्ध गराइएको थियो।
फाइभजी सेवा परीक्षणका लागि अनुमति प्राप्त गरेसँगै नेपाल टेलिकमले मुलुकका प्रमुख शहरहरुमा फाइभजी उपकरण जडान गरेर परीक्षण गरिरहेको बताउँदै आएको छ।
टेलिकमले २०७९ कार्तिकमा काठमाडौंको बबरमहल र सुन्धारामा फाइभजी उपकरण जडान गरेर परीक्षण सुरु गरिरहेको जानकारी दिएको छ। साथै २०७९ चैतमा वीरगन्ज र पोखरामा पनि फाइभजी उपकरण जडान गरेर परीक्षण गरिरहेको छ।
देशभर फोरजी सेवा बिस्तार गर्ने टेण्डर आह्वानको क्रममा नै केहि सिमित शहरमा फाइभजी सेवा शुरु गर्नका लागि आवश्यक उपकरण उपलब्ध गराउने गरी त्यसबेला टेलिकम र सीसीएसआई–जेडटीईबीच सम्झौता भएको थियो।
तर त्यसमा संसोधन गरेर सरकारले सातै प्रदेशका प्रमुख शहरमा फाइभजी सेवा परीक्षण गर्न टेलिकमलाई निर्देशन दिएको थियो।
सरकारको निर्देशनपछि टेलिकमले नेपालको ७ प्रदेशमै फाइभजी सेवा परीक्षण शुरु गर्ने योजना बनाएको बताउँदै आएको छ। ७ प्रदेश मध्ये हाल काठमाडौं, पोखरा र वीरगन्जमा फाइभजी उपकरण जडान गरी नेपाल टेलिकमले आन्तरिक रुपमा परीक्षण गरिरहेको कम्पनीका प्रवक्ताले बताउँदै आएका छन्। तर आम उपभोक्ताले यस फाइभजी परीक्षणमा सहभागिता जनाउन सक्ने विषयमा नेपाल टेलिकमले कुनै जानकारी उपलब्ध गराएको छ।
फाइभजी सेवाको परीक्षणको लागि पाएको फ्रिक्वेन्सी फिर्ता गर्न करिब ६ महिनामात्र बाँकी हुँदा पनि टेलिकमले सर्वसाधारणले कहिलेदेखि फाइभजी सेवा प्रयोग गर्न सक्छन भन्ने विषयमा केहि बताउन सकेको छैन्।
प्रकाशित: २३ असार २०८०, शनिबार