
काठमाडौं ।
चीन र संयुक्त राज्य अमेरिका बीचको तीव्र व्यापार युद्ध (ट्रेड वार) चलिरहेको बेलामा बेइजिङले विश्वव्यापी चिप निर्माण उद्योगका लागि आवश्यक पर्ने दुई महत्त्वपूर्ण कच्चा पदार्थहरूको निर्यातमा नियन्त्रण लगाएर महत्त्वपूर्ण कदम चालेको उल्लेख गरिएको छ।
सेमिकन्डक्टर क्षेत्रमा प्रभुत्वको लागि बढ्दो लडाईमा सेमिकन्डक्टरमा प्रयोग हुने रणनीतिक तत्वहरू ग्यालियम र जर्मेनियम चीनको नयाँ लक्ष्य भएका छन्।
सोमबार घोषणा गरिएको यस कदमलाई अमेरिकाको सबैभन्दा ठूलो मेमोरी चिप निर्माताहरू मध्येको एक माइक्रोन टेक्नोलोजीमाथि मे महिनामा गरिएको प्रतिबन्धपछि चीनको यो दोस्रो प्रमुख प्रतिबन्धको रूपमा हेरिएको छ।
यो कार्य एआई चिप्समा अमेरिकी प्रतिबन्धको सम्भावित कडाईको प्रतिक्रिया रहेको उद्योग विश्लेषकहरूको विश्वास रहेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
साथै यस घोषणाले विश्वव्यापी आपूर्ति शृंखलाहरूमा कम्पन उत्पन्न गरेको उल्लेख छ। रेयर अर्थ एक्सपोर्ट (पृथ्वीको दुर्लभ पदार्थको निर्यात) मा रोक लगाउनु चीनको व्यापार प्रतिशोधको अर्को चरण हुनसक्ने भएकाले सेमीकन्डक्टर उद्योग मात्र नभएर विद्युतीय सवारी उत्पादकहरू पनि चिन्तित भएका बताइएको छ।
ग्यालियम र जर्मेनियम उत्पादनहरू माथिको निर्यात नियन्त्रण आगामी अगस्ट १ देखि लागू हुने बताइएको छ भने यसले ग्लोबल चिपमेकिङ्ग इकोसिस्टमलाई उल्लेखनिय रुपमा क्षति पुग्नसक्ने उल्लेख गरिएको छ। सेमिकन्डक्टर्स उत्पादनको लागि अभिन्न रहेका यी धातुहरू प्रविधि, अटोमोटिभ, दूरसञ्चार, र अन्य थप सहित विभिन्न उद्योगहरूको मेरुदण्ड भएको उल्लेख गरिएको छ।
सेमिकन्डक्टर आपूर्ति शृङ्खलाको एक प्रमुख खेलाडी रहेको चीनले यी कच्चा पदार्थहरूको उपलब्धतामा सिर्जना गरेको अवरोधहरूले विश्वव्यापी बजारमा निरन्तर र गम्भीर प्रभावहरू पार्न सक्ने उल्लेख गरिएको छ।
विश्वका दुई ठूला अर्थतन्त्रहरू बीच चलिरहेको व्यापार युद्धले प्रतिशोधात्मक कार्यहरू र प्रतिकार्यहरूको श्रृंखला देखिरहेको छ। साथै सेमीकन्डक्टर उद्योगको लागि महत्वपूर्ण रहेका रणनीतिक सामग्रीहरूमा लगाइने निर्यात नियन्त्रणले तनावलाई अझ धेरै चर्काउन सक्ने बताइएको छ।
व्यापार युद्ध अघि बढ्डै जाँदा सबैको नजर चीन र संयुक्त राज्य अमेरिका दुवैका कार्य र प्रतिक्रियाहरूका साथै तिनीहरूले सेमिकन्डक्टरहरूले सक्षम गर्ने महत्वपूर्ण प्रविधिहरू र सेमिकन्डक्टरहरूमा धेरै निर्भर रहेका विभिन्न क्षेत्रहरूमा पार्ने प्रभावमा पनि रहने उल्लेख गरिएको छ।
प्रकाशित: २१ असार २०८०, बिहीबार