
काठमाडौं ।
नेपालमा बनेको फोहोरबाट हाइड्रोजन निकाल्ने मेसिन जापान निर्यात सुरु भएको छ। फोहोरबाट नवीकरणीय ऊर्जा हाइड्रोजन ग्यास क्लिंकर उत्पादन गर्ने मेसिन जापान निर्यात सुरु भएको हो।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आइतबार उक्त मेसिन जापान निर्यातको शुभारम्भ गरेका हुन्।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा जापानी कम्पनी यामातो इन्टरनेशनलले फोहोर व्यवस्थापन गरी नवीकरणीय उर्जा उत्पादन गर्ने मेसिन बनाउने कारखाना सञ्चालन गरिरहेको छ। यहाँबाट उत्पादित मेसिन जापान निर्यात भइरहेको छ।
कानुनी जटिलताका कारण नेपालमा भने मेसिन बिक्री गर्न समस्या भएको छ। विश्व बजारमा फोहोर चुनौतीका रुपमा देखिएका कारण फोहोरबाट नवीकरणीय उर्जा बनाउँदा फोहोर व्यवस्थापन सहज हुने विश्वास गरिएको हो।
यहाँ उत्पादित ३ वटा मेसिन ३ करोड रुपैयाँदेखि ५ करोड रुपैयाँसम्मका जापान निर्यात भइसकेको यामातो इन्टरनेसनलका नेपाली सञ्चालक कृष्ण खतिवडाले बताए। मेसिनले फोहोरमा भएका टिन, फलाम लगायतका बस्तु छानेर अलग गरिदिन्छ।
कुहिने तथा नकुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन, क्लिंकर, पत्थर कोइला र मललगायतका सामग्री उत्पादन हुने खतिवडाले जानकारी दिए। मेसिनभित्र जडान भएका सिस्टमले फोहोर छान्ने, पिस्ने, सुकाउने र उत्पादन गर्ने कार्य गर्ने हुनाले फोहोर व्यवस्थापन सहजै गर्न सकिने उनको भनाइ छ। मेसिनले प्लाष्टिकजन्य फोहोरलाई जलाउने नभएर रासायनिक प्रक्रियाबाट नष्ट गर्ने भएकाले पनि यो वातावरणमैत्री भएको निर्माण कम्पनीको दाबी छ।

प्रकाशित: २१ असार २०८०, बिहीबार