भारतले २०२४ को अन्त्यसम्ममा आफ्नै माइक्रोचिप उत्पादन गर्ने

  • Technology Khabar | २१ असार २०८०, बिहीबार

काठमाडौं ।

भारतले सेमीकन्डक्टर एसेम्ब्ली प्लान्टको निर्माण सुरु गर्ने भएको छ। भारतले २०२४ को अन्त्यसम्ममा देशभित्र आफ्नै माइक्रोचिप उत्पादन सुरु गर्ने लक्ष्य राखेको फाइनान्सियल टाइम्सले रिपोर्ट गरेको छ।

भारतका इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले गुजरातमा माइक्रोन टेक्नोलोजीले चिप एसेम्बली र परीक्षण सुविधा स्थापना गर्ने बताए। २.७५ बिलियन अमेरिकी डलरको परियोजना अगस्टमा सुरु गर्ने योजना कम्पनी छ। भारत सरकारको सहयोगमा परियोजना अघि बढ्ने रिपोर्टमा उल्लेख छ।

फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा उनले भने, ‘यो कुनै पनि देशको लागि नयाँ उद्योग स्थापना गर्नको लागि सबैभन्दा छिटो समय हो। १८ महिनामा हामीले कारखानाबाट पहिलोे उत्पादन निकाल्ने लक्ष्य राखेका छौं । अर्थात् २०२४ डिसेम्बर।’ उनले थपे।

माइक्रोचिप टेक्नोलोजीले सोमबार हैदराबादमा आफ्नो नयाँ अनुसन्धान र विकास (आरएण्डडी) केन्द्रको उद्घाटन गरेको छ। साथै कम्पनीले यस सुविधामा जनशक्ति विस्तार गर्ने आफ्नो योजना पनि जाहेर गरेको छ। आगामी वर्षहरूमा आफ्नो हेडकोउन्टलाई दोब्बर गरी १ हजार पुर्याउने कम्पनीले बताएको छ।

यो नयाँ सुविधा माइक्रोचिप टेक्नोलोजीको दीर्घकालीन पहलको एक महत्वपूर्ण भाग हो। कम्पनीले पछिल्लो वर्षहरुमा ३०० मिलियन अमेरिकी डलरभन्दा बढी लगानी गरेको छ।

यसअघि, भारत सरकारले भारतमा सेमीकन्डक्टर र डिस्प्ले फ्याब उत्पादन इकोसिस्टमको विकास गर्ने उद्देश्यका साथ परिमार्जित सेमिकन इन्डिया कार्यक्रम मार्फत १ जुन २०२३ देखि देशमा सेमीकन्डक्टर फ्याब र डिस्प्ले फ्याबहरू निर्माण गर्न नयाँ आवेदनहरू स्वीकार गर्ने निर्णय गरेको थियो।

प्रकाशित: २१ असार २०८०, बिहीबार

तपाइको प्रतिक्रिया