
काठमाडौं ।
सवारी चालक अनुमतिपत्रको राजस्व अब अनलाइनबाटै भुक्तानी गर्न सकिने सेवा शुभारम्भ भएको छ। पहिलो चरणमा गण्डकी प्रदेशबाट अनलाइन राजस्व सेवाको सुरूवात भएको हो।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यातायात व्यवस्था विभागले तयार पारेको पोर्टलमा क्लिक गरेर सवारी चालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै तिर्न मिल्ने सेवाको सुरूवात गरेका हुन्।
मन्त्री ज्वालाले सेवा शुरु गर्दै भने, “सबै यातायात कार्यालयमा लाग्ने लामो भीडले हामीलाई गिज्याइरहेको छ, त्यो भीडलाई कम गर्न हामीले अनलाइनबाट राजश्व भुक्तानी सेवाको सुरू गरेका हौं।”
अनलाइन सेवा १५ दिनसम्म परीक्षणको रुपमा संचालित हुनेछ। त्यसपछि देशभरका यातायात कार्यालयहरुमा सो सेवा लागु हुनेछ।
अनलाइन सेवाले राजस्व तिर्न यातायात कार्यालयसम्म धाउनुपर्ने झन्झट अन्त्य गर्ने र भीडभाड पनि कम हुने अपेक्षा गरिएको छ।
यसमार्फत नयाँ लाइसेन्सको राजश्व, नविकरण तथा स्तर थप (कोटा थप)को राजश्व भुक्तानी पेमेन्ट गेटवे मार्फत गर्न सकिने छ।
प्रकाशित: २० असार २०८०, बुधबार