कामै नगरी सम्पर्क बिहिन भएको ठेकेदार कम्पनीलाई दूरसञ्चार उपकरण बुझाउन एनसेलको ताकेता

  • Technology Khabar | २० असार २०८०, बुधबार
कामै नगरी सम्पर्क बिहिन भएको ठेकेदार कम्पनीलाई दूरसञ्चार उपकरण बुझाउन एनसेलको ताकेता
एनसेल आजियाटा लिमिटेडको लैनचौरमा रहेको मुख्य कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

एनसेल आजियाटा लिमिटेडले दूरसञ्चार सेवा सञ्चालनका लागि टावर निर्माण, अप्टिकल फाइबर बिछ्याउने, तार तान्ने दूरसञ्चार उपकरण जडान गर्ने तथा यस कम्पनीले देशको विभिन्न स्थानमा स्थापना गरेको डाटा सेन्टरहरुमा अनसाइट सपोर्टको काम गर्न जिम्मा दिएको कम्पनीले कामै छाडेपछि आफ्ना सबै दूरसञ्चार उपकरणहरु बुझाउन ताकेता गरेको छ।

एनसेलले उक्त काम गर्नका लागि ललितपुर स्थित इन्टरनेशनल जेनेशिस टेक्नोलोजी नेपाल प्रालिलाई जिम्मा दिएको थियो।

तर कम्पनीले कामै सम्पन्न नगरी यहि जेठ १९ गतेदेखि देशको विभिन्न भागमा भईरहेको कामहरु एक्कासी छाडी सम्पर्क विहिन भएको र कम्पनीबाट धेरै पटक सम्पर्क गर्न प्रयास गरेको र विभिन्न मितिमा उक्त कम्पनीको आधिकारिक ईमेल तथा रजिष्टर्ड ठेगानामा पत्राचार गर्दा समेत कुनै पनि आधिकारिक व्यक्ति यस कम्पनीको सम्पर्कमा नआएको तथा जवाफ नगरी सम्पर्क विहिन भएको उल्लेख गरेको छ।

सोहि कारण एनसेलले यसअघि पनि सूचनामार्फत कम्पनीलाई सम्पर्कमा आउन र आवश्यक सेवा सञ्चालन ऐन, २०१४ तथा औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार अत्यावश्यक एवं राष्ट्रिय प्राथमिकता प्राप्त यस दूरसञ्चार सेवाको नियमित सञ्चालनमा नै अवरोध हुने जस्तो कार्य भएको हुँदा यस कम्पनीको तपसिलमा उल्लेखित ठेगानामा ३ दिन भित्र सम्पर्क गर्न भनेको थियो।

तर कम्पनी सो अवधिमा पनि सम्पर्कमा नआएपछि दूरसञ्चार उपकरणहरु फिर्ता गर्न भनेको छ।

“यस कम्पनीबाट विभिन्न स्थानहरुमा जिम्मा लिएका कार्य सम्पन्न नगरेको र विभिन्न प्रोजेक्टहरुका लागि यस कम्पनीबाट जिम्मा लिएका दूरसञ्चारका उपकरणहरु, अप्टिकल फाईबर तार लगाएतका उपकरण एंव सामाग्री तहाँ Genesis कम्पनीको साथमा रहेकोले यस कम्पनीको दूरसञ्चार नेटवर्क विस्तारमा बाधा पुगेकोले उक्त उपकरणहरु यो सूचना प्रकाशन भएको मितिले ३ (तीन) दिन भित्र यस कम्पनीको कार्यालयमा फिर्ता गरि बुझाउन यो सूचनामार्फत अनुरोध गर्दछौं,” सूचनामा भनिएको छ।

यस्तै एनसेलकाअनुसार अनौपचारिक सूचनाको आधारमा तहाँ जेनेसिसले देशका विभिन्न स्थानहरुमा ती उपकरणहरु संग्रह गरि राखेको बुझिन आएकोले उक्त उपकरण यस कम्पनीलाई फिर्ता नगरी हिनामिना भएमा वा नष्ट गरिएमा वा दूरुपयोग भएमा रेडियो ऐन, २०१४ एंव प्रचलित कानून बमोजिम तहाँ कम्पनी र कम्पनीका आधिकारिक व्यक्ति जिम्मेवार रहनेसमेत चेतावनी दिएको छ।

यसैगरी कसैले यस कम्पनीका उपकरण कब्जामा लिएमा नष्ट गरेमा वा दुरुप्रयोग गरेमा कानून बमोजिम सजायको भागिदार हुने भन्दै उक्त म्यादभित्र पनि कम्पनीको प्रतिनिधिले यस कम्पनीको कार्यालयमा सम्पर्क गरी दूरसञ्चार उपकरण तथा सामाग्रीहरु फिर्ता नगरेमा कानुन बमोजिमको आवश्यक प्रक्रिया अगाडि बढाउन यस कम्पनी बाध्य हुने एनसेलले जनाएको छ।

प्रकाशित: २० असार २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...