Technology Khabar १८ असार २०८०, सोमबार
काठमाडौं ।
यामाहाले १२५ सीसीको इलेक्ट्रिक स्कुटर विकास गरिरहेको र उक्त इलेक्ट्रिक स्कुटर अर्को वर्ष सार्वजनिक हुने सम्भावना रहेको छ। यामाहा ई०१ इलेक्ट्रिक स्कुटरमा ८ किलोवाटको अधिकतम पावर र १०० किलोमिटर प्रति घन्टाको उच्च गति रहने उल्लेख छ।
यामाहा ई०१ ई–स्कुटरको तौल भने लगभग १५८ केजी हुनेछ भने एक पटकको सिङ्गल चार्जमा १०४ किलोमिटरको दायरा प्रदान गर्न सक्ने गीज्मोचाइनामा उल्लेख गरिएको छ।
अर्को वर्ष रिलिज भएसँगै यस नयाँ ई०१ इलेक्ट्रिक स्कुटर युरोपमा यामाहा नियो लाइनअपमा सामेल हुने बताइएको छ। साथै नयाँ ई–स्कुटर नियो भन्दा बढी पावरको साथ आउने उल्लेख छ। यामाहा ई०१ को अवधारणा सन् २०१९ को टोकियो मोटर शोमा प्रस्तुत गरिएको थियो। यामाहाले २०२२ देखि ई०१ को परीक्षणको शृङ्खलाहरू सञ्चालन गर्नुका साथै अभ्यास र स्वीकृति परीक्षणहरू पूरा गरिसकेको छ।
त्यसैगरी यो मोडल ताइवान, जापान, थाइल्यान्ड, इन्डोनेसिया र मलेसियाका सडकहरुमा पहिल्यै नै देखा परिसकेको बताइएको छ। साथै फ्रान्सको पेरिसमा पनि यो मोडल आइसकेको बताइएको छ भने युरोपको अन्य क्षेत्रमा भने उपलब्ध भइनसकेको उल्लेख गरिएको छ।
हालै यामाहाले जापानमा ई०१ को उत्पादन संस्करणको लागि अद्यावधिक डाटा जारी गरेको छ। ई०१ ई–स्कुटरको ८.१ किलोवाटको पिक आउटपुट ५,००० आरपीएममा प्राप्त गरिने उल्लेख छ भने १,९५० आरपीएममा ३० एनएमको म्याक्सिम्म टर्क उत्पादन गर्ने बताइएको छ। त्यसैगरी ई०१ मा ८७.६ भोल्टको अपरेटिङ भोल्टेजको साथ ५६.३ एएच लिथियम–आयन ब्याट्री समावेश गरिएको छ। ई०१ को १०४ किलोमिटरको म्याक्सिम्म रेञ्ज ६० किलोमिटर प्रति घन्टाको स्थिर गतिमा हासिल गर्न सकिने उल्लेख छ। बाइकमा ७५५ एमएमको कम उचाइ सिट रहेको र ह्वीलबेस १,३८० एमएमको भएको बताइएको छ।
अगाडिको टायरको साइज ११०/७०–१३ रहेको छ भने पछाडिको टायरको साइज १३०/७०–१३ रहेको बताइएको छ। साथै दुबै पाङ्ग्रामा एबीएस र डिस्क ब्रेक समावेश गरिनुका साथै अगाडिको भागमा स्ट्याण्डर्ड टेलिस्कोपिक फोर्क सस्पेन्सन रहेको छ।
यामाहा ई०१ मा दुई ओटा स्प्रिङ्ग स्ट्रटस र टुथेड बेल्ट फाइनल ड्राइभसहितको टु-आर्म्ड एल्युमिनियम रियर व्हील स्विङ आर्म रहेको छ। त्यसैगरी स्विङ आर्मको अगाडि अवस्थित इन्जिनले गुरुत्वाकर्षण र स्थिरताको राम्रो केन्द्र प्रदान गर्ने बताइएको छ। सिटमुनि रहेको लगेज कम्पार्टमेन्टमा २३ लिटरको भोल्युम रहेको र कम्पार्टमेन्टमा फुल फेस हेल्मेट राख्न सकिने बताइएको छ। बाइकमा इको, स्ट्याण्डर्ड र पावर ड्राइभिङ मोडका अतिरिक्त रिभर्स गियर पनि रहेको छ।
ब्याट्री सेटअप अनुसार ई०१ ले फास्ट चार्जिङ्गलाई समर्थन गर्नेछ भने एक घण्टा भित्र पूर्ण रुपमा चार्ज पनि हुने बताइएको छ। यद्यपि, एक स्ट्याण्डर्ड पावर कनेक्सनले बाइक पूर्णरुपमा चार्ज नभएसम्म ५ घण्टासम्म डेलिभर गर्नेछ।
यामाहा ई०१ को उत्पादन संस्करणको मूल्यको बारेमा कुनै जानकारी उपलब्ध छैन्। यद्यपि यामाहा ई०१ अर्को वर्ष रिलिज हुने अपेक्षा गरिएको छ।
प्रकाशित: १८ असार २०८०, सोमबार