आठ सामुदायिक विद्यालयलाई ल्यापटप वितरण, प्रति ल्यापटपको मूल्य ९० हजार रुपैयाँ

Technology Khabar १७ असार २०८०, आईतवार

आठ सामुदायिक विद्यालयलाई ल्यापटप वितरण, प्रति ल्यापटपको मूल्य ९० हजार रुपैयाँ
बिग डिजिटलमा बेच्न राखिएका बिभिन्न ब्राण्डका ल्यापटपहरु। सांकेतिक। फाइल तस्विर

काठमाडौं ।

तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका कार्यालयले गाउँपालिकाभित्र रहेका आठ सामुदायिक विद्यालयलाई ल्यापटप उपलब्ध गराएको छ। विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यअनुरुप विद्यालयबाट माग भइआएका निवेदनका आधारमा ल्यापटप वितरण गरेको हो।

सबै सामुदायिक विद्यालयमा कम्प्युटर जडान भए पनि विद्युत् लाइन नहुँदाको समयमा ल्यापटप सहज हुने भएकाले ल्यापटप उपलब्ध गराइएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए। विद्यालयमा मात्रै नभई प्रयोगात्मक काममा विद्यालय बाहिर जाँदा पनि ल्यापटप लैजान सजिलो हुने भएकाले विद्यालयको मागबमोजिम प्राथमिकताका आधारमा ल्यापटप हस्तान्तरण गरिएको उनले बताए। प्रवक्ता दरैकाअनुसार शुक्ला मावि, सहिदगङ्गा मावि, राधा आवासीय विद्यालय, महेन्द्रदोय, जयदुर्गा मावि, श्रृग मावि, सरस्वती आवासीय विद्यालय र शिवसरस्वती माविलाई ल्यापटप प्रदान गरिएको छ।

गाउँपालिकाले ७० प्रतिशत र विद्यालयले ३० प्रतिशत लगानी गरेर खरिद गरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रति ल्यापटप रू.९० हजारका दरले खरिद गरिएको हो।

गाउँपालिकाभित्र रहेका ११ ओटा मावि र ३४ आधारभूतसहित ४५ ओटै सामुदायिक विद्यालयमा कम्प्युटर जडान गर्ने लक्ष्य रहेको उनले बताए। अध्यक्ष श्रेष्ठका अनुसार गत वर्ष १० ओटा विद्यालयलाई कम्प्युटर प्रदान गरिसकिएको छ । उनले भने, “बाँकी रहेका अन्य विद्यालयलाई पनि क्रमिक रुपमा वितरण गर्दै प्रविधिमैत्री बनाइने छ।”

प्रकाशित: १७ असार २०८०, आईतवार

तपाइको प्रतिक्रिया