पोकेमन गो निर्माता नियान्टिकले एक चौथाई कर्मचारी कटौती गर्ने

  • Technology Khabar | १५ असार २०८०, शुक्रबार
पोकेमन गो निर्माता नियान्टिकले एक चौथाई कर्मचारी कटौती गर्ने

काठमाडौं ।

पोकेमन गो भिडियो गेमको निर्माता नियान्टिकले एक चौथाई कर्मचारी कटौती गर्ने भएको छ।

कोभिड महामारीको समयमा डाउनलोड बढे पनि पछिल्लो समय गेमिङ उद्योगले मन्दीको सामना गर्नु परेकाले आफ्नो कार्यबलको एक चौथाई कटौती गर्नु पर्ने स्थिती आएको नियान्टिकले बताएको बीबीसीले उल्लेख गरेको छ।

फर्मले लस एन्जलसमा आफ्नो स्टुडियो पनि बन्द गर्नुका साथै दुई गेमहरू रद्द गरेको छ।

‘हामीले हाम्रो खर्चलाई राजश्व भन्दा छिटो बढ्न अनुमति दिएका छौँ,’ अमेरिकामा आधारित नियान्टिकका प्रमुख कार्यकारी जोन ह्यान्केले एक विज्ञप्तिमा भने।

सन् २०१६ मा रिलिज हुँदा पोकेमोन गो गेमले विश्वव्यापी रुपमा तहल्का पिटेको थियो।

तत्कालिन समयमा अगुमेन्टेड रियालीटी गेमले एप्पल एप स्टोरमा एक हप्तामा सबैभन्दा धेरै डाउनलोडको रेकर्ड बनाएको थियो।

‘उच्च प्राथमिकता पोकेमोन गोलाई स्वस्थ राख्नु र सधैंको लागि गेमको रूपमा बढ्दै जानु हो,’ ह्यान्केले भने।

यद्यपि, उनले यो पनि भने कि यो गेम सुरु भएदेखि नै, ‘मोबाइल बजार बढेको छ र एप स्टोरमा परिवर्तन र मोबाइल विज्ञापन परिदृश्यले नयाँ मोबाइल गेमहरू स्केलमा लन्च गर्न अझ गाह्रो बनाएको छ।’

नियान्टिकका २३० कर्मचारी, गेम प्लेटफर्म टोलीमा रहेकाहरू सहित, रोजगारी कटौतीबाट प्रभावित हुनेछन्।

कम्पनीले जनवरीमा रिलिज गरेको एनबीए अल-वर्ल्ड गेम पनि रिटायर गर्नेछ र कम्पनीले मार्वल वर्ल्ड अफ हिरोज शीर्षकको उत्पादन बन्द गर्नेछ।

पोकेमोन गोको उचाइको समयमा गेमरहरूले पिकाचु र स्नोर्ल्याक्स लगायतका पात्रहरूलाई पछ्याउँदै भर्चुअल जीवहरूको खोजी गर्न सार्वजनिक ठाउँहरूमा पुग्ने गरेका थिए।

केही प्रयोगकर्ताहरूले सुरक्षा चेतावनीहरूलाई बेवास्ता गरे, जसले कार दुर्घटना, लुटपाट, चोटपटक र मृत्यु लगायतका दुःखत घटना समेत निम्त्याएको थियो।

गत वर्ष जुनमा नियान्टिकले चार परियोजनाहरू रद्द गर्ने र आफ्नो कार्यबल लगभग ८ प्रतिशत घटाउने बताएको थियो।

मेमा पोकेमन गोको राजश्व घटेकाले पनि यो कटौतीलाई प्रेरित गरेको छ।

प्रकाशित: १५ असार २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार