
काठमाडौं ।
मोबाइल र इलेक्ट्रोनिक प्रोसेसरहरूमा निर्माण टेक्निकले ठूलो भूमिका खेल्ने गर्दछ। प्रोसेसर नोड जति सानो भयो त्यति राम्रो एसओसी प्रदर्शन गर्ने धारणा रहेका छ। अहिलेसम्म हामीले स्न्यापड्रागन ८ जेन २ र डाइमेन्सिटी ८२०० जस्तो ४ एनएम टेक्नोलोजीमा आधारित चिपसेटहरू प्रयोगमा आएको देखेका छौं।
यद्यपि, हामीले ३ एनएम नोडमा आधारित कुनै पनि चिप भने देखेको छैनौं र यो अवस्था पनि अब एप्पल आईफोन १५ सँगै परिवर्तन हुन सक्ने सम्भावना रहेको उल्लेख छ। यसै द्वौरान सामसङले २०२५ मा २एनएम चिप्सको उत्पादन सुरु गर्ने योजना बनाइरहेको र त्यसपश्चात २०२७ मा १.४ एनएम चिपहरूले पछ्याउने खबर आएको छ।
टीएसएमसी पछि विश्वको दोस्रो ठूलो कन्ट्र्याक्ट चिप प्रोडुसर कोरियाली कम्पनी सामसङ फाउन्ड्री बजारमा पछाडि नहुन कटिबद्ध रहेको उल्लेख छ। सन् २०२२ को सुरुमा टीएसएमसीले २०२५ सम्ममा २ एनएम प्रविधि संसारमा पेश गर्ने आफ्नो योजनाको घोषणा गरेको थियो। साथै अब सामसङले पनि समान समयरेखालाई लक्षित गरेको पुष्टि गरेको गीज्मोचाइनामा उल्लेख गरिएको छ ।
गएको मङ्गलबार क्यालिफोर्नियाको सान जोसमा आयोजित फोरममा दक्षिण कोरियाली टेक कम्पनीले सन् २०२५ मा २एनएम मोबाइल चिप्सको मास– प्रोडक्सन (ठूलो उत्पादन) सुरु गर्न चाहेको बताएको थियो।
एनएमको अर्थ न्यानोमिटर हुन्छ भने यसले ट्रान्जिस्टरहरूको च्यानल लेन्थ (लम्बाइ) लाई बुझाउनुका साथै यसले चिप बनाउँछ। एउटा सानो च्यानल लेन्थले थप ट्रान्जिस्टरहरूलाई एकल चिपमा डेन्सली (घन रूपमा) प्याक गर्न अनुमति दिने र यसले गर्दा सुधारिएको प्रदर्शन हने बताइएको छ।
सामसङले २०२५ मा २ एनएम चिप्सको परीक्षण गरिसकेपछि यसले २०२६ मा हाई–पर्फमेन्स कम्प्युटिङका लागि एडभान्स्ड प्रोसेस (उन्नत प्रक्रिया) प्रदान गर्ने बताइएको छ। यसबाहेक, २०२७ सम्ममा कोरियाली कम्पनीले विशेष गरी अटोमोटिभ चिप्सका लागि डिजाइन गरिएको प्रक्रिया प्रस्ताव गर्ने लक्ष्य राखेको उल्लेख छ।
कम्पनीले भर्खरै आफ्नो विकसित २ एनएम प्रोसेस (प्रक्रिया)लाई गत वर्ष लन्च गरिएको ३एनएम प्रोसेससँग तुलना गरेको बताइएको छ। सामसङको ३ एनएम प्रोसेसको तुलनामा सानो प्रोसेसर नोडले प्रदर्शनतर्फ १२ प्रतिसत वृद्धि र पावर दक्षतामा २५ प्रतिसत वृद्धि प्रदान गर्ने दाबी गरिएको छ।
साथै २एनएम प्रोसेस (प्रक्रिया)ले सामसङलाई ३एनएम प्रोसेस प्रयोग गरेर उत्पादन गरिएका भन्दा ५ प्रतिसत सानो चिपहरू डिजाइन गर्न अनुमति दिने उल्लेख गरिएको छ। यसबाहेक, कम्पनीले २०२७ मा आफ्नो १.४एनएम प्रोसेस प्रयोग गरी चिप्सको मास– प्रोडक्सन (ठूलो उत्पादन) सुरु गर्ने योजनाको घोषणा गरेको छ।
प्रकाशित: १५ असार २०८०, शुक्रबार