
काठमाडौं ।
नेपाल टेलिकमको टावरमा समस्या आउँदा १० दिनदेखि ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका सञ्चार सम्पर्कविहीन बनेको छ। फक्ताङ्लुङ गाउँपालिका–६, लेलेपको मुरिङ्ला डाँडामा रहेको टावरमा समस्या आएपछि सो गाउँपालिका सञ्चार सम्पर्कविहीन बनेको हो।
लेलेपको मुरिङ्ला डाँडास्थित नेपाल टेलिकमको टावरमा समस्या आएपछि गाउँपालिकाको आधाभन्दा बढी क्षेत्र सञ्चार सम्पर्क विच्छेद भएको छ। असार महिनायता निरन्तरजस्तै वर्षा भइरहेको र केही दिनदेखि अवरुद्ध बनेको सञ्चार सेवा सुचारु नहुँदा सेवाग्राही मारमा छन् । टावरमा आएको खराबीसँगै मोबाइल सेवा अवरुद्ध हुँदा सर्वसाधारण उपभोक्ताका साथै फक्ताङ्लुङ गाउँपालिकाको कार्य सम्पादनमा समेत समस्या हुँदै आएको छ ।
हाल गाउँपालिकाको प्रशासकीय केन्द्र तापेथोक, साँघु, फेम्बु, लेलेप हेल्लोक, इखाबुलगायत क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद अवस्था छ। सञ्चार विच्छेद अर्थात् मोबाइल सेवा अवरुद्ध हुँदा सूचना आदानप्रदान नै ठप्प भएको स्थानीय बासिन्दाले बताएका छन्।
वर्षात्को मौसमसँगै बाढीपहिरोजस्ता विपत्का घटना हुने समयमा सञ्चार सम्पर्कविहीन हुनुपर्दा सबैभन्दा बढी पीडा महसुस भइरहेको स्थानीय दिलकुमार लिम्बूले बताए । प्राकृतिक विपत् वा अत्यावश्यक काम पर्दासमेत सम्पर्क गर्नुपर्ने व्यक्ति तथा आफन्तसँग सम्पर्क बिहीन हुनुपर्ने अवस्थाले सबैलाई पीडाबोध भइरहेको उनको भनाइ छ ।
यता फक्ताङ्लुङ गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरेर मोबाइल सेवा अवरुद्ध भएको अवस्थामा सम्पर्क गर्नु परे ह्वाट्सएपमार्फत सम्पर्क गर्न आह्वान गरेको छ। गाउँपालिका अध्यक्ष राजन लिम्बू, उपाध्यक्ष रवीन साम्रा, प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बे, सूचना अधिकारी जयप्रसाद रिजाललगायतको नम्बरमा ह्वाट्सएपमार्फत सम्पर्क गर्न गाउँपालिकाले आह्वान गरेको हो। यतिबेला योजनाको भुक्तानी लिने र फस्र्योट गर्ने समयमा मोबाइल सेवा अवरुद्ध हुँदा उपभोक्ता तथा कार्यालयलाई नै काममा असहज भइरहेको गाउँपालिकाले जनाएको छ।
यता बुधबार मात्र नेपाल टेलिकम कार्यालय ताप्लेजुङबाट प्राविधिक टोली मुरिङ्ला डाँडा पुगेर टावरमा आएको खराबीबारे जानकारी लिएको छ।
नेपाल टेलिकम कार्यालय ताप्लेजुङका प्रमुख शिवकुमार सिंहका अनुसार टावरको ट्रान्समिसन केबुलमा समस्या देखिएको र सो समस्या समाधानका लागि इलामबाट सामानसहित प्राविधिक टोली आएपछि पुनः मर्मत गरेपश्चात् मात्र सेवा सुचारु हुनेछ। गोरखापत्रबाट
प्रकाशित: १५ असार २०८०, शुक्रबार