
काठमाडौं ।
अस्ट्रेलियाको संसदीय समितिले अनलाइन जुवा विज्ञापनहरु प्रतिबन्ध गर्न माग गरेको छ। विश्वको सबैभन्दा ठूलो सट्टेबाजी बजारमा निम्त्याएको ‘विपत्ति’ लाई सीमित गर्न अस्ट्रेलियाले तीन वर्षमा अनलाइन जुवाको विज्ञापनलाई चरणबद्ध गर्नु पर्ने बुधबार संसदीय समितिले सिफारिस गरेको रोयटर्सले उल्लेख गरेको छ।
समितिले खेलकुदको संस्कृतिलाई परिवर्तन गर्दै आएको अनलाइन जुवालाई कसरी नियमन गर्नुपर्छ र लतसँग लडिरहेका अष्ट्रेलियालीहरूलाई कसरी सहयोग गर्नुपर्छ भन्ने विषयमा ३१ वटा सिफारिसहरू गरेको छ।
अनलाइन जुवाको मामलामा अस्ट्रेलियालीहरुले अन्य सबै देशका नागरिकहरूलाई पछाडि छोडेका छन्। समितिका अध्यक्ष पेटा मर्फीले ‘तपाईंले केही जित्नुभयो, तपाईंले धेरै हार्नुहुन्छ’ प्रतिवेदनको शीर्षक रहेको बताए।
मर्फीले भने, ‘यसले हाम्रा समुदायहरूमा विनाश ल्याइरहेको छ।’
मर्फीले भने कि अनलाइन जुवा कम्पनीहरूले खेलको साथसाथै जानाजानी र रणनीतिक रूपमा विज्ञापन गर्छन्। जसले यसलाई रमाइलो र हानिरहित तथा सामाजिक गतिविधिको रूपमा सामान्य बनाएको उनको दाबी छ।
‘अष्ट्रेलियाली युवाहरुको एक पुस्ताले जुवा र खेलकुदलाई अभिन्न रूपमा जोडिएको रूपमा हेर्छन्,’ मर्फीले भने, ‘यसले खेलकुदको संस्कृतिलाई परिवर्तन गरिरहेको छ।’
पछिल्लो समय अनलाइन जुवा खेल्नेको संख्या विश्वमै बढ्दो रुपमा छ। कोभिड १९ को प्रकोपका कारण धेरै मानिसले रोजगारी गुमाएका छन्। अनलाइन जुवाको प्रचार गर्नेले पनि सजिलै जुवाबाट पैसा कमाउन सक्ने लगायतका आकर्षक विज्ञापन गर्ने भएकाले पनि यस प्रति आकर्षण बढ्दो छ।
नेपालमा जुवालाई कानुनी मान्यता छैन। तर पनि चर्चित कलाकार र यूट्युबरहरुले नेपालमा अनलाइन जुवाको खुलेआम विज्ञापन गरिरहेका छन्। जुवाको बढ्दो विज्ञापनसँगै नेपाली यूवाहरु पनि जुवाको लतमा फस्दै छन्। जसले सामाजिक तथा आर्थिक रुपमा ठूलो क्षति निम्त्याई रहेको छ। पछिल्लो समय समाजिक सञ्जाल मार्फत अनलाइन जुवाको विज्ञापन गर्ने माथि नेपाल प्रहरीले आक्रमक रवैया अपनाइरहेका छन्।
केही साता अघि प्रहरीले नेपालका चर्चित कालकार तथा यूट्युबरलाई जुवाको प्रचार गरेको आरोपमा पक्राउ गरिसकेको छ। यस प्रकारको प्रचार गर्ने सेलिब्रेटीहरु माथि प्रहरीले निगरानी पनि बढाइरहेको छ।
प्रकाशित: १४ असार २०८०, बिहीबार