
काठमाडौं ।
टेस्लाको बहुप्रतिक्षित साइबरट्रक पूर्ण क्षमतामा उत्पादन सुरु भएको छ। कास्टिङ प्रेसहरू स्थापना गरिएसँगै टेस्ला साइबरट्रक उत्पादन गीगा टेक्सासमा पूर्ण क्षमता सञ्चालनमा आएको नयाँ ड्रोन फुटेजमा देखिएको इनसाइडईभीले उल्लेख गरेको छ।
ड्रोन फुटेजमा दुई ओटा ९ हजार टनको गिगा प्रेसका साथै साइबरट्रकको रियर कास्टिङहरू प्रशस्त देखिएको थियो।
अटोमेकरको आधिकारिक फ्याक्ट्री फोटोहरु अनुसार टेस्लाले २०२३ को पहिलो क्वाटरदेखि साइबरट्रकको अल्फा भर्सन निर्माण गरिरहेको छ। नयाँ फुटेजमा ईभी निर्माणका लागि आवश्यक पर्ने सम्पूर्ण उपकरणहरु स्थापना गरिएको प्रष्ट हुन्छ।
कम्पनीले २०२३ को तेस्रो क्वाटरको अन्त्यमा साइबरट्रक ग्राहकलाई डेलिभरी गर्ने लक्ष्य राखेको छ। डेलिभरी समय नजिकैसँगै टेस्ला साइबरट्रकको ठूलो उत्पादनको तयारी सुरु गरिएको बुझिएको छ।
सन् २०१९ मा पहिलो पटक प्रस्तुत गरिएको टेस्ला साइबरट्रक संसारभर चर्चाको विषय बनेको थियो। रिपोर्टका अनुसार करिब १.८ मिलियन ग्राहकले साइबरट्रक बुक गरेका छन्। अटोमेकरले वार्षिक ३ लाख ७५ हजार यूनिट साइबरट्रक उत्पादन गर्ने अपेक्षा गरेको छ। हलको उत्पादन क्षमताका आधारमा यी सबै अर्डरहरु पूर्ति गर्न ४ वर्ष भन्दा बढीको समय लाग्ने देखिन्छ। रिफन्डेबल १०० अमेरिकी डलरमा साइबरट्रक अग्रिम बुकिङ गर्न सकिने भएकाले सबै ग्राहकले डेलिभरीका लागि इच्छा जाहेर नगर्ने सम्भावना पनि छ।
साइबरट्रकलाई पहिलो पटक प्रस्तुत गर्न तीन भर्सन घोषणा गरिएको थियो। इन्ट्री लेभलको ३९ हजार ९०० अमेरिकी डलरको सिंगल मोटर भर्सनले २५० माइल रेञ्ज प्रदान गर्ने दाबी गरिएको थियो। ४९ हजार ९०० अमेरिकी डलरको डुअल मोटर भेरियन्ट साइबरट्रकले ३०० माइल रेञ्ज प्रदान गर्ने र ४.५ सेकेन्डमा ० देखि ६० माइल प्रति घण्टा गति लिन सक्षम छ।
६९ हजार ९०० अमेरिकी डलर मूल्यको टप भेरियन्ट साइबरट्रकमा तीन मोटर छ। टप भेरियन्टले ५०० माइल रेञ्ज प्रदान गर्नुका साथै २.८ सेकेन्डमा ० देखि ६० माइल प्रति घण्टा गति लिन सक्षम छ।
प्रकाशित: १४ असार २०८०, बिहीबार