प्रधानमन्त्री दाहालले भने- ‘राहदानीका लागि आफ्नै मोबाइलबाट चौबीसै घन्टा आवेदन दिन सकिन्छ’

  • Technology Khabar | १३ असार २०८०, बुधबार
प्रधानमन्त्री दाहालले भने- ‘राहदानीका लागि आफ्नै मोबाइलबाट चौबीसै घन्टा आवेदन दिन सकिन्छ’

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कागजमुक्त, नगदमुक्त र लाइनमुक्त देश बनाउने अभियान अन्तरगत विभिन्‍न सरकारी कार्यालयहरूबाट निश्चित सार्वजनिक बिदाका दिनमा समेत सेवा प्रवाहको व्यवस्था गरिएको बताएका छन्।

उनले आज प्रतिनिधि सभामा दिएको विभिन्न विषयमा उठेका प्रश्‍नको जवाफ दिँदै विद्युतीय तथा अनलाइनमार्फत सेवा दिईरहेको जानकारी दिए।

“केही महिनाअघिसम्म विद्यार्थीहरू नो अब्जेक्सन् सर्टिफिकेट लिन भक्तपुरको सानो ठिमीमा मध्यरातदेखि कम्बल बोकेर लाइनमा बसेका समाचार आउँथे। विदेशमा पढ्न हिँडेका युवा विद्यार्थीमा त्यो यातनाले व्यवस्था र अवस्थाप्रति पक्कै वितृष्णा जगाउँथ्यो। अहिले त्यो सर्टिफिकेट आफ्नै मोबाइलमा प्राप्त गर्न सकिने भएको छ,” उनले भने।

यसका साथै प्रधानमन्त्री दाहालले यसअघि राहदानी लिन त्यस्तै सकस भएको र विचौलियालाई हजारौं तिरेर र हप्तौं लाइन बसेर ठूलो प्रतीक्षापछि मात्र राहदानी हात पर्ने गरेको भन्दै भने, “अहिले राहदानी विभागअगाडि कुनै भिड देखिँदैन। आवेदन दिन अब कुनै विचौलिया चाहिँदैन, आफ्नै मोबाइलबाट चौबीसै घन्टा आवेदन दिन सकिन्छ। पहिल्ला सात महिनामा मात्रै १८ लाख चार सय ३१ विद्युतीय राहदानी वितरण भएको छ।”

उनले त्यसै गरी राष्‍ट्रिय परिचयपत्रमा पनि ठूलो सुधार भएको भन्दै पुस ११ गतेसम्म दैनिक ७ हजारको संख्यामा छपाइ हुने परिचयपत्र अहिले दुई सिफ्टमा १५ हजारको संख्यामा छापिइरहेको जानकारी दिए।

यसका साथै उनले ५३ जिल्लाका ५५४ स्थानीय तहमा अभियान सञ्‍चालन गरी करिब १ करोड ३० लाख नागरिकको विवरण संकलन भएको बताए।

“बढी भिडभाड हुने जिल्ला प्रशासन कार्यालयमा टाइम कार्ड एवं टोकन प्रणाली लागू गरिएको छ। अध्यागमन कार्यालयहरूमा अध्यागमन सूचना प्रणाली ‘नेपालपोर् लागू भएको छ भने हस्तलिखित भिसाको सट्टा क्यूआर कोड सहितको सिस्टम जेनेरेटेड भिसा लागू गरिएको छ। विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणाली थप ५ ओटा यातायात व्यवस्था कार्यालयहरूमा लागू भएको छ,” उनले भने।

प्रकाशित: १३ असार २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार