Technology Khabar १२ असार २०८०, मंगलवार
काठमाडौं ।
एक अग्रणी सेमिकन्डक्टर र टेलिकम्यूनिकेसन इक्यूपमेन्ट कम्पनी क्वालकमले हालै २१२एस र ९२०५एस नामक दुईओटा मोडेम चिप्सको घोषणा गरेको छ। उक्त चिपहरू इन्टरप्राइज इन्टरनेट अफ थिंग्स (आईओटी) क्षेत्रका साथै स्याटेलाइट उद्योगको बढ्दो मागहरू पूरा गर्नका लागि लन्च गरिएको बताइएको छ। साथै आईओटी क्षेत्र र स्याटेलाइट उद्योग अर्को दशकमा बूम हुने अपेक्षा गरिएको बताइएको छ।
हाइब्रिड कनेक्टिभिटी प्रदान गर्दै र अल्ट्रा–लो पावर खपत गर्ने उक्त चिपहरू नियमित क्वालकम चिप्स भने नभएको उल्लेख छ। ३ जीपीपी रिलीज १७ स्ट्याण्डर्ड (मानक) को पालना गरेको हुनाले उक्त चिपहरू ग्राउन्ड सिंक्रोनस अर्बिट (जीईओ/जीएसओ) स्याटेलाइट कम्यूनिकेसनको लागि उपयुक्त भएको बताइएको छ। साथै उक्त चिपहरूले ग्लोबल पोजिसनिङ्ग क्यापाबिलिटिज (जीपीएस) लाई पनि समर्थन गर्ने गीज्मोचाइनामा उल्लेख छ।
बजारमा पहिले नै आइसकेको ९२०५एस चिपलाई आईओटी डिभाइसहरूका साथै सेलुलर र स्याटेलाइट दुबै नेटवर्कहरू बीच सिमलेस कनेक्टिभिटी प्रदान गर्ने बताइएको छ। साथै यस इन्टिग्रेसनले ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम (जीएनएसएस) मार्फत प्रिसाइज पोजिसनिङ्ग डाटा सक्षम गर्ने उल्लेख छ। नतिजाको रूपमा उक्त चिप कन्टेनरहरूको ढुवानी ट्र्याक गर्ने, कृषि उपकरण र पशुधनको अनुगमन गर्ने र आपूर्ति श्रृंखला सञ्चालनहरूमा विश्वव्यापी फ्लीट्स र माल ढुवानी व्यवस्थापन गर्ने जस्ता उद्योगहरूको विभिन्न एप्लिकेसन्समा उपयोगी हुने उल्लेख गरिएको छ।
त्यसैगरी यस वर्ष पश्चात रिलीज गर्न तय गरिएको २१२एस चिप लामो–दूरी, फिक्स्ड–लोकेसन एप्लिकेसन्सको लागि बनाइएको उल्लेख छ। यस चिपले डिभाइसको लाईफस्पान बढाउनका लागि ब्याट्रीलाई अप्टिमाइज गर्नुका साथै पानी र इन्धन ट्याङ्कीहरू, मिटरहरू र अन्य पूर्वाधार उपकरणहरूबाट टेलिमेट्री डाटा सङ्कलन गर्ने जस्ता कार्यहरू गर्ने क्वालकमले बताएको उल्लेख छ। यसबाहेक, २१२एस चिप पब्लिक ग्रिड मोनिटरिङ्ग (सार्वजनिक ग्रिड अनुगमन), अर्लि फायर डिटेक्टसन रिपोर्टिङ्ग (प्रारम्भिक आगलागी पत्ता लगाउने रिपोर्टिङ्ग) आदि को लागी राम्रोसँग उपयुक्त हुने बताइएको छ।
उक्त दुबै चिपहरूले क्वालकम अवेयर प्लेटफर्मको लाभ उठाउने भएकाले दुर्गम क्षेत्रहरूमा रियल–टाईम एसेट ट्र्याकिङ्ग र डिभाइस म्यानेजमेन्ट सर्भिसेस प्रदान गर्ने बताइएको छ।
प्रकाशित: १२ असार २०८०, मंगलवार