
काठमाडौं ।
सरकारले नेपाल भित्र डाउनलिङ्क अनुमति नभएका विदेशी च्यानल र च्यानलमा विज्ञापन प्रसारण गरेकोमा चेतावनी दिएको छ।
सूचना तथा प्रसारण विभागले केहि दिन अघि प्रेस विज्ञप्तिमार्फत त्यस्ता डाउनलिङ्क नभएका विदेशी च्यानलहरु र विदेशी च्यानलमा विज्ञापन समेत प्रसारण गर्ने गरेको भन्दै तत्काल त्यस्ता च्यानलहरु बन्द गर्न चेतावनी दिएको हो।
नेपाल भित्र क्लिनफिड लागू भएपनि केहि सेवा प्रदायकहरुले केहि समयदेखि अनुमति नभएका च्यानलहरु प्रशारण गरेको र त्यस्ता च्यानलहरुमा विदेशी विज्ञापन प्रशारण गरिएको भन्दै दर्शकहरुले गुनासो गरेका छन्।
सोही अनुसार विभागले कानूनी कारबाही गर्ने चेतावनी दिएको छ।
विभाग (साविक सञ्चार तथा सूचना मन्त्रालय) बाट डिस्ट्रिब्यूटर जस्तै डिजिटल केबल अपरेटर/आईपीटिभी/एमएसओ/एमएमडीएस/डिटिएच र डिटीटीबी सञ्चालनको इजाजतपत्र/अनुमतिपत्र प्राप्त संस्थाहरुले डाउनलिङ्क नभएका विदेशी च्यानलहरु र विदेशी च्यानलमा विज्ञापन समेत प्रसारण गर्ने गरेको बारेमा गुनासोहरु आईरहेको विभागले उल्लेख गरेको छ।
“विभागको website http://www.doib.gov.np/ मा राखिएको डाउनलिङ्क अनुमति प्राप्त विदेशी च्यानलहरु मात्रै प्रसारण गर्न/गराउन पाउने कानूनी व्यवस्था रहेको छ। डाउनलिङ्क अनुमति नलिएका विदेशी च्यानलहरुको साथै विदेशी च्यानलमा विज्ञापनहरु प्रसारण भई रहेको भएमा सो प्रसारण तत्काल बन्द गर्नुहुन अन्यथा प्रचलित कानून अनुसार कारवाही हुने,” विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: १२ असार २०८०, मंगलवार