काठमाडौं ।
नेपालमा डिजिटल सेवा उपलब्ध गराईरहेका कम्पनी तथा सेवा प्रदायकहरुले सिधै राजस्व तिर्न सक्ने भएका छन्।
आन्तरिक राजस्व विभागले एक सार्वजनिक सूचनामार्फत त्यस्ता सेवा प्रदायकका लागि छुट्टै राजस्व खाता संचालनमा ल्याएको जानकारी दिएको छ।
सूचनाअनुसार नेपालमा सेवा दिँदै आएका गुगल, फेसबुक, युट्युब लगायतका गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबारमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (VAT) र विद्युतीय सेवा कर (DST) विदेशबाट नेपालमा दाखिला गर्नको लागी देहाय बमोजिमको खाता खोली सकिएको छ।
विभागकाअनुसार राजस्व बापतको रकम तोकिएको म्यादभित्र राजस्व खातामा दाखिला हुने गरी पठाउनुपर्नेछ।
यसको लागि विभागले नेपाल राष्ट्र बैंकको नाममा सिधै तोकिएको एकाउन्टमा राजस्व रकम दाखिला गर्न सक्ने प्रावधान राखेको छ। उनीहरुले राष्ट्र बैंकको खाता नम्बर 1200203/002.001.840 को खाता नाम KA 1.1 REVENUE ACCOUNT-USD मा पठाउनुपर्नेछ।
उल्लेख गरिएको खातामा रकम पठाउन लाग्ने शुल्क करदाता स्वयंले व्यहोर्नु पर्ने विभागले जनाएको छ। यसका साथै उक्त खातावाट राजस्व दाखिला गर्ने प्रयोजनको लागि रकमसँगै तोकिए बमोजिमको सूचना समेत पठाउनु पर्नेछ उल्लेख गरेको छ।
सरकारले बजेटमार्फत चालू आर्थिक वर्षदेखि नै यस्ता सेवा प्रदायकले विद्युतीय सेवा कर तिर्नुपर्ने व्यवस्था गरेको छ। यसको लागि सरकारले छुट्टै डिजिटल सर्भिस ट्याक्स सम्बन्धी कार्यविधि, २०७९ समेत तयार पारेको छ।
उक्त कार्यविधिअनुसार विद्युतीय सेवामा सूचना प्रविधि अत्यावश्यक पर्ने र न्यूनतम मानवीय हस्तक्षेपमा स्वचालित रुपले इन्टरनेटमार्फत प्रदान हुने वस्तु तथा सेवा लाई यसमा व्याख्या गरिएको छ।
सफ्टवेयरको आपूर्ति र अध्यावधिकरण, तथ्यांक, तस्विरको डाउनलोड सेवा, शिक्षा, परामर्श, सीप विकास तथा तालिम सेवा, इ–बुक, इ–पुस्तकालय, इ–पत्रिका, अनलाइन मार्केटलगायतलाई पनि विद्युतीय सेवाको सूचिमा राखिएको छ।
1341481960प्रकाशित: ११ असार २०८०, सोमबार