
काठमाडौं ।
रुकुमपूर्व जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाका केही गाउँका बासिन्दा अझै पनि टेलिफोनविहीन अवस्थामा रहेका छन्।
छिटोछरितो र सहज रूपमा सूचना आदानप्रदान गर्ने माध्यम नै टेलिफोन सेवा हो । अहिलेको युगमा सञ्चारका विभिन्न माध्यमले बिरबलाई नै एउटै गाउँ जस्तो बनाइदिएको छ तर रुकुमपूर्वका विभिन्न ठाउँ तथा गाउँका बासिन्दाले अहिले पनि टेलिफोन सेवाबाट वञ्चित भई बस्नुपर्ने अवस्था रहेको छ।
तीन गाउँपालिका रहेको यस जिल्लामा भुमे र सिस्नेभन्दा पुथाउत्तरगङ्गा टेलिफोनको सेवा सँगसँगै अन्य विकासका पूर्वाधारबाट समेत पछि रहेको छ। १४ वटा वडा रहेको पुथाउत्तरगङ्गामा अन्य वडामा जेनतेन टेलिफोन सेवा रहेकोमा वडा नम्बर १० र ११ का आधा दर्जनभन्दा बढी गाउँका करिब दुई हजार चार सय घरधुरो अहिलेसम्म पनि टेलिफोन सेवा पाउनबाट वञ्चित छन् । वडा नम्बर १० र ११ का विभिन्न गाउँमा हालसम्म टेलिफोन सेवा विस्तार हुन सकेको छैन।
वडा नम्बर नं. १० को घुमिलबाङ गाउँ र बडा नम्बर न. ११ को वडा केन्द्रसमेत रहेको उपल्लो सेरासँगै दम्बन, तुपा, खोरे, तातु र करालीबाङलगायत यो दुई बडाका आधा दर्जन बढी गाउँ टेलिफोन सेबाबाट वञ्चित रहेको उपल्लो सेराका ओमबहादुर बुढा नगरले बताए।
टेलिफोन सेवा विस्तारका लागि सम्बन्धित निकायमा धेरै पटक हारगुहार गरिए पनि सुनुवाइ नभएको बुढा मगरले गुनासो पोखे। उनले भने, “गाउँमा टेलिफोन सेवा विस्तार नहुँदा वर्ल्डलिंक कम्युनिकेसनले वडा कार्यालयमा जडान गरेको इन्टरनेटबाट आफन्तसँग कहिलेकाहीँ मुस्किलले कुराकानी गर्न पाउँछौं।”
टेलिफोनबाट कुराकानी गर्न कुनै गाउँकालाई एक दिन, कुनैलाई एक/दुई घण्टा पैदल हिँडेर टावर टिप्ने ठाउँमा पुग्नुपर्ने बाध्यता रहेको अर्का स्थानीय सुनार बुढामगरले सुनाए।
यो क्षेत्रलाई टेलिफोनको सेवा पहुँच विस्तार गर्नका लागि बडा नम्बर नं. १० को घुमिलबाङमा नेपाल टेलिकमको टावर निर्माणको काम भइरहेको गाउँपालिका अध्यक्ष पुनिराज घर्तीमगरले बताए। यद्यपि भौगोलिक विकटता र निर्माण सेवाको आन्तरिक कारणले टावर निर्माणमा काम ढिला र सुस्त गतिमा सञ्चालन भइरहेको अध्यक्ष घर्ती मगरले जानकारी दिए।
गाउँबासीलाई यथाशीन टेलिफोन सेवामा जोड दिनका लागि टावर निर्माण व्यवसायी र जिल्लाको नेपाल टेलिकम कार्यालयलाई ध्यानाकर्षण गरिराखेको उनले बताए। गोरखापत्रबाट
प्रकाशित: १० असार २०८०, आईतवार