
काठमाडौं ।
एनसेलको डाटा सेन्टरमा अप्टिकल फाइबर लाने र अनसाइट सपोर्ट सेवा दिँदै आएको कम्पनी सम्पर्क बिहिन भएपछि सार्वजनिक सूचनामार्फत कानूनी कारबाहीको चेतावनी दिएको छ।
एनसेल आजियाटा लिमिटेडले दूरसञ्चार सेवा सञ्चालनका लागि टावर निर्माण, अप्टिकल फाइबर बिछ्याउने, तार तान्ने दूरसञ्चार उपकरण जडान गर्ने तथा यस कम्पनीले देशको विभिन्न स्थानमा स्थापना गरेको डाटा सेन्टरहरुमा अनसाइट सपोर्ट सम्बन्धी काम गर्नको लागि ललितपुर स्थित इन्टरनेशनल जेनेसिस टेक्नोलोजी नेपाल प्रालि (साविकको जीटीएल नेपाल प्रालि)सँग सम्झौता गरी सेवा लिँदै आईरहेको उल्लेख गरेको छ।
तर जेठ १९ गतेदेखि देशको विभिन्न भागमा भैरहेको कामहरु एक्कासी छाडी सम्पर्क विहिन भएको र यस कम्पनीबाट धेरै पटक सम्पर्क गर्न प्रयास गरेको र विभिन्न मितिमा उक्त कम्पनीको आधिकारिक ईमेल तथा रजिष्टर्ड ठेगानामा पत्राचार गर्दा समेत कुनै पनि आधिकारिक व्यक्ति यस कम्पनीको सम्पर्कमा नआएको तथा जवाफ नगरी सम्पर्क विहिन भएको एनसेलले जनाएको छ।
“आवश्यक सेवा सञ्चालन ऐन, २०१४ तथा औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार अत्यावश्यक एवं राष्ट्रिय प्राथमिकता प्राप्त यस दूरसञ्चार सेवाको नियमित सञ्चालनमा नै अवरोध हुने जस्तो कार्य भएको हुँदा यस कम्पनीको तपसिलमा उल्लेखित ठेगानामा ३ दिन भित्र सम्पर्क गरी आफुले जिम्मा लिएका कार्यका सम्बन्धमा छलफल गर्न सम्बन्धित सबैको जानकारीको लागि यसै सूचना मार्फत अनुरोध गर्दछौं,” सूचनामा भनिएको छ।
उक्त म्यादभित्र सम्पर्क नगरेमा कानुनी प्रकृया थालनी गर्ने समेत एनसेलले चेतावनी दिएको छ।
प्रकाशित: ९ असार २०८०, शनिबार