
काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले सेवाग्राहीका लागि नौलो सुविधा ल्याएको छ। वर्ल्डलिंकको नयाँ सुविधा अन्तर्गत इन्टरनेटको स्पिड स्लो भए ग्राहकले पैसा फिर्ता पाउनेछन्।
कम्पनीले आफ्नो सेवाग्राहीलाई वाचा गरेअनुरुपको इन्टरनेट स्पिड नभएमा पैसा फिर्ता दिने जानकारी दिएको छ। वर्ल्डलिंकको इन्टरनेट स्पिड स्लो हुँदै गएको भनेर गुनासो गर्ने ग्राहकहरुलाई विश्वास दिलाउन कम्पनीले यस्तो अफर ल्याएको हो।
अन्य इन्टरसेवा प्रदायकहरुले मूल्यमा प्रतिस्पर्धा गर्ने गरेको देखिए पनि वर्ल्डलिंकको पहिलो प्रथामिकता गुणस्तरिय सेवा रहेको छ। यसले सस्तो इन्टरनेट भन्दा पनि गुणस्तरिय इन्टरनेट सेवाका लागि वर्ल्डलिंक प्रतिबद्ध भएको उल्लेख गरेको छ।
यदि ग्राहकलाई वर्ल्डलिंकको सेवामा चित्त नबुझेमा पैसा फिर्ता पाउँछन्। आफ्नो सेवामा कुनै सम्झौता गर्दैन र ग्राहकलाई सर्भिसको ग्यारेन्टी गर्न यस्तो सुविधा ल्याएको कम्पनीले जनाएको छ।
ग्राहक समर्पित सेवाका कारण ७ लाख ८० हजार ग्राहक सहित वर्ल्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक पनि हो।
कसले पाउँछन् मनि ब्याक
मनि ब्याकको सुविधा वर्ल्डलिंकका ‘स्ट्यान्डर्ड अफर प्याकेज’ का ग्राहकले पाउने छन्। यो प्याकेज अन्तर्गत २०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएसको इन्टरनेट प्रयोग गर्ने प्रयोगकर्ताहरु पर्छन् । यी ग्राहकले कुनै थप शुल्क बिना नै यो सेवा प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ।
हाललाई यी बाहेक अन्य प्याकेजमा रहेका ग्राहकहरुले मनी ब्याक ग्यारेन्टीको सुविधा प्राप्त गर्नेछैनन्। यदि उनीहरुले आफ्नो प्याकेजलाई अपग्रेड गरे भने यो सुविधामा सहभागी हुन पाउनेछन्। यो सुविधा उपलब्ध गराउन कम्पनीले थप आवश्यक प्राविधिक कर्मचारीहरु परिचालन गर्नेछ।
कसरी दाबी गर्ने ? कति रकम फिर्ता हुन्छ ?
यसमा ग्राहकको इन्टरनेट स्पिड स्लो हुने बित्तिकै रकम फिर्ता पाइहाल्ने भने होइन। स्ट्यान्डर्ड प्याकेज प्रयोगकर्ताले आफ्नो स्पिड स्लो भएको फोन मार्फत, शाखा कार्यालय, वा अनलाइन सेवाबाट जानकारी गराउनु पर्नेछ।
वर्ल्डलिंकले आफ्ना प्राविधिक कर्मचारीलाई ग्राहकको ठेगानामा इन्टरनेट स्पीड जाँच गर्न पठाउनेछ, ईन्टरनेट स्लो भएको कारण पत्ता लगाई समस्याको समाधान गर्नेछ। तथापि स्पीडको समस्या यथावत रहेमा ग्राहकले मनी ब्याक ग्यारेन्टी सुविधा अन्तर्गत पैसा फिर्ता माग गर्न सक्नेछ।
रकम फिर्ता माग गर्दा ग्राहकले प्याकेज लिएको जतिदिन बाँकी रहन्छ सो बराबरको रकम मात्र फिर्ता पाउने व्यवस्था गरेको कम्पनीले जानकारी दिएको छ। उदाहरणको लागि ९० दिनको प्याकेज लिएको ग्राहकले २५ दिन उपभोग गरिसकेको छ भने बाँकी ६५ दिनको रकम मात्र फिर्ता पाउनेछ।

कसले दाबी गर्ने ?
इन्टरनेट स्पिड स्लो भएको ग्राहकहरुले (२०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएस) यस सुविधा अन्तर्गत आफ्नो गुनासो दाबी गर्न सक्छन्।
यदि इन्टरनेट स्पिड स्लो हुँदा वर्ल्डलिंकले समस्या समाधान गर्न नसकेको खण्डमा मात्र मनी ब्याक ग्यारेन्टी अफर लागु हुने बताईएको छ।
५१ ओटा शाखामा सर्भिस ग्यारेन्टीको अफर
वर्ल्डलिंकले देशभरका मुख्य शहरहरुमा मनी ब्याक ग्यारेन्टीको सुविधा लागु हुने जनाएको छ। जसमध्ये ५१ ओटा शाखाका ग्राहकहरुले सुविधाको फाइदा लिन सक्नेछन्। जसमा देशभरका सबै मुख्य शहरहरु पर्दछन्। वर्ल्डलिंकले आउने दिनहरुमा यो सुबिधा अरु शाखाहरुमा पनि उपलब्ध गराउँदै जाने उल्लेख छ।
वर्ल्डलिंकको सेवा दुर्गम क्षेत्रमा समेत पुगिसकेको छ र २७ वर्षदेखि आफ्नो उपस्थिती रहेको वर्ल्डलिंकको पहुँच ७४ नेपालको जिल्लामा पुगिसकेको जानकारी गराएको छ।
प्रकाशित: ८ असार २०८०, शुक्रबार