डिटिएच तथा इन्टरनेट सेवा प्रदायक डिश मिडिया नेटवर्कको आम्दानी निरन्तर घट्दो

  • Technology Khabar | ७ असार २०८०, बिहीबार
डिटिएच तथा इन्टरनेट सेवा प्रदायक डिश मिडिया नेटवर्कको आम्दानी निरन्तर घट्दो
डिस मिडिया नेटवर्क लिमिटेडको मुख्य कार्यालय। फाइल तस्विर

काठमाडौं ।

स्याटेलाइटमार्फत टेलिभिजन अर्थात डिटिएच तथा इन्टरनेट सेवा प्रदान गर्दै आएको डिस मिडिया नेटवर्क लिमिटेडको आम्दानीमा निरन्तर गिरावट आएको देखिएको छ।

इन्टरनेट सेवा प्रदायकहरुले आईपीटीभीमा आधारित रहेर टेलिभिजन सेवा समेत प्रदान गरेपछि प्रतिस्पर्धा बढ्दै जाँदा कम्पनीको आम्दानी घट्दै गएको रेटिङ एजेन्सी केयरनेपालले गरेको रेटिङ्ग प्रतिवेदनमा उल्लेख छ।

कम्पनीले आफैं पनि  डिशफाइबरनेटको नाममा देशभर इन्टरनेट सेवा उपलब्ध गराईरहेको छ। जसमा डिशहोमको अफर समेत समय समयमा दिँदै आएको छ।

सन् २०२० मा ५ अर्ब १३ करोड ३० लाख सञ्चालन आम्दानी गरेको कम्पनीले सन् २०२२ मा ४ अर्ब ८३ करोड ९० लाख सञ्चालन आम्दानी गरेको छ। सन् २०२१ मा कम्पनीको सञ्चालन आम्दानी ४ अर्ब ९२ करोड रहेको थियो। सन् २०२० को तुलनामा कम्पनीको आम्दानी ६ प्रतिशतले घटेको हो।

पछिल्लो समयमा इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेट सेवा प्रदान गर्दा डिसहोमका ग्राहकसंख्या समेत घट्दै गएका छन् । प्रतिवेदनकाअनुसार वार्षिकरुपमा कम्पनीका २९ प्रतिशत सब्सक्राइबर्स घटेका छन्।

सन् २०१० मा स्थापना भएको डिस मिडिया नेटवर्कले स्थापनाको समयदेखि डाइरेक्ट–टु–होम (डिटिएच) सेवा प्रदान गर्दै आएको छ। हाल नेपालभर कम्पनीका ७५ डिलर संस्था, चार हजार ५ सय बढी सब–डिलर, १४ सर्भिस सेन्टर, १५ सय बढी फ्रेन्चाइ, १० हजार बढी पोइन्ट अफ सेल्स र २२ लोकल केबल अपरेटर रहेका छन्।

हाल डिस मिडिया नेटवर्कले २०७ च्यानल उपलब्ध गराएको छ। जसअन्तर्गत ६० च्यानल एचडी च्यानल रहेका छन् भने १४७ एसडी च्यानलहरु रहेका छन्। साथै कम्पनीका आफ्नै १५ ओटा च्यानल रहेका छन्, जुन अरु टेलिभिजन नेटवर्कमा प्रसारण हुँदैन।

कम्पनीमा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनसहित आइएमई ग्रुपका हेमराज ढकाल निर्देशक रहेका छन्। डिस मिडिया नेटवर्कको दैनिक कार्य संचालनका लागि कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आचार्यको नेतृत्वमा टिम रहेको छ।

कम्पनीले ३ अर्ब ९८ करोड ४५ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ। रेटिङ एजेन्सीले १ अर्ब ४३ करोड ४५ लाख बराबरको दीर्घकालीन कर्जाका लागि ट्रिपल बी माइन्स रेटिङ गरी ‘वाच वीथ नेगेटिभ इम्प्लीकेशन’को सूचीमा राखेको छ। यस्तै २ अर्ब ५५ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए३ रेटिङ गरेको छ।

कम्पनीको रेटिङ ट्रिपल बी रहेको छ भने केयरनेपालले वाच वीथ नेगेटिभ इम्प्लीकेशनको सूचीमा राखेको छ। यसअघि कम्पनीको रेटिङ ट्रिपल बी माइन्स रहेको थियो।

कम्पनीले आगामी दिनमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ जारी गर्ने समेत योजना लिएको छ।

प्रकाशित: ७ असार २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...