
काठमाडौं ।
कम्पनी रजिस्ट्रारको कार्यालयले अनलाइनबाट नयाँ कम्पनी दर्ता र खारेजी प्रक्रिया अघि बढाएको छ। आगामी आर्थिक वर्ष २०८०/८१ बजेटमा अनलाइनबाटै कम्पनी दर्ता र खारेजी प्रक्रिया अघि बढाइने व्यवस्था उल्लेख थियो।
बजेटको व्यवस्थाअनुसार अनलाइनबाटै कम्पनी दर्ता र खारेजी प्रक्रिया कार्यान्वयन गर्नेतर्फ कम्पनी रजिस्ट्रार कार्यालय अघि बढेको हो।
अनलाइनबाटै कम्पनी दर्ता र खारेजीको कार्यान्वयनका लागि कम्पनीहरूको विवरण अद्यावधिक गर्न रजिस्ट्रार कार्यालयले सूचना पनि प्रकाशित गरेको छ।
कम्पनी रजिस्ट्रार कार्यालयका प्रमुख महेश बरालले आगामी साउन १ गतेदेखि कम्पनी दर्ता र खारेजी प्रक्रिया अनलाइनबाट गर्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिए।
‘यसका लागि प्राविधि विषय मिलाउन पर्छ। सिस्टम कस्टमाईज गर्नुपर्छ,’ बरालले टेक्नोलोजीखबरसँग भने, ‘सफ्टवेयर परिवर्तन गर्नुपर्ने पनि हुन सक्छ।’
आगामी आर्थिक वर्ष साउन १ गतेदेखि सुरु हुने भएकाले सोही मितिदेखि कार्यान्वयन गर्ने कार्यालयको योजना छ।
‘प्राविधिक विषय भएकाले एक, दुई दिन ढिला हुन सक्छ। साउनको २, ३ गते भित्रमा भने अनलाइनबाटै कम्पनी दर्ता र खारेजी प्रक्रिया कार्यान्वयनमा आउने छ’ उनले भने।
यसअघि ९० प्रतिशत काम अनलाइनबाट हुँदै आएकोमा साउनदेखि पूर्णरूपमा अनलाइनबाट काम हुने बरालले जानकारी दिए। अब कम्पनीहरूले आफ्नो विवरण अद्यावधिक गरे हामी कम्पनी दर्ता र खारेजी अनलाइनबाटै गर्ने कार्यको थालनी गर्न सक्छौँ।
‘अनलाइनबाट कम्पनी दर्ता र खारेज गर्न नयाँ सफ्टवेयर बनाएर केही फिचर थपिएको छ,’ उनले भने, ‘डिजिटल हस्ताक्षर गर्ने वा हुलाक माध्यमबाट जाने भन्ने विषयमा छलफल भइरहेको छ।’
कार्यालयकाअनुसार हालसम्म तीन लाख सात हजार ७९७ कम्पनी दर्ता भएका छन्।
प्रकाशित: ७ असार २०८०, बिहीबार