Technology Khabar ५ असार २०८०, मंगलवार
काठमाडौं ।
नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योजना दिन सक्ने उच्च सम्भावना भएको आईटी क्षेत्रलाई आगामी आर्थिक वर्षको बजेटले बेवास्था गरेको रास्वपाका सांसद डा. स्वर्णिम वाग्लेले बताएका छन्। आईटी क्षेत्रमा अथाह आर्थिक सम्भावना भएकाले यसमा उल्लेखनिय कदम चाल्न उनले मंगलबारको प्रतिनिधि सभाको बैठकमा सरकारसँग माग गरे।
उनी सांसद बन्नु अघि नेपालमा आईटी क्षेत्रको अवस्था कस्तो छ भन्ने सम्बन्धमा निजी क्षेत्रबाट गरिएको सर्भेको डाटा संसदमा प्रस्तुत गरेका थिए। जसमा निर्यातजन्य आईटी क्षेत्रमा कति नेपाली छन्? यो क्षेत्र कति ठूलो हो? यसको सम्भावना कति छ? लगायत उल्लेख छ।
यसको प्रारम्भिक नम्बरहरु सुन्दा नेपालको आर्थिक ल्याडस्केपमै यसले सानो तिनो भूकम्प ल्याउने खालको अनुमान गर्न सकिने उनले दाबी गरे।
‘नयाँ रुपान्तकारी क्षेत्रमा हामी झारा टार्ने डिजिटल अर्थतन्त्र अपनाइने छ भन्ने भाषामा खुम्च्याएका छौं। तर यसको जुन रुपान्तकारी सम्भावना छ,’ उनले भने, त्यसबारे हामीले सम्बोधन गरेकै छैनौं।’
आईटीको अपार, अथाह सम्भावनालाई भेउ पाउन नसकेकोमा उनले दुखेसो पोखे।
उक्त सर्भेको आकँडाअनुसार करिब ७ हजार ६३७ ओटा आईटी कम्पनी रजिष्टार कार्यालयमा दर्ता छन्। करिब ७ हजारले कर तिर्छन्। १०६ ओटा निर्यातजन्य छन्। आईटी क्षेत्रमा फ्रिलान्सिङ गर्नेको संख्या करिब ६६ हजार ५०९ छ। उनीहरुको औषत आम्दानी लगभग ४ हजार ७२३ डलर प्रति वर्ष छ।
पाँच हजार डलर प्रति व्यक्ति आय भनेको चानचुने विषय नभएको उनले बताए। अहिले रसियासँग युद्ध भइरहेको युक्रेनको प्रतिव्यक्ति आय पाँच हजार डलर भएको पनि उनले जानकारी दिए।
साथै उनले इन्ट्रि लेभलमै करिब ३ हजार डलर, मिड लेभलमा ६ हजार ३९५ डलर, सिनियर लेभलमा १५ हजार ३२२ डलर आईटी क्षेत्रमा लागेकाले नेपालमै बसिबसि कमाउने गरेको तथ्य उनले संसदमा जानकारी गराए।
‘१५ हजार ३२२ अमेरिकी डलर प्रति व्यक्ति आम्दानी भनेको रूस, चीन र मलेसियाको प्रतिव्यक्ति आयभन्दा माथि हो। यति डाइनामिक सेक्टर यहीँ छ,’ उनले भने, ‘तपाई हामीसँग चिया खाएर कुनामा बसेर काम गरिरहेको मान्छेले दुनियाँको बिग इकोनोमीसँग यसरी आबद्ध् भएर काम गरिरहेको हुन सक्छ।’
यसरी काम गर्नेहरूले वार्षिक कुल ५१५ मिलियन अमेरिकी करोडभन्दा बढीको आम्दानी गरिरहेको पनि उनले जानकारी गराए।
कम्पनीहरुले गत वर्ष २०१ मिलियन र फ्रिलान्सहरुबाट करिब ३१४ मिलियन डलर नेपाल भित्रिएको छ। यो नेपालमा अथाह सम्भावना भएको क्षेत्रको रुपमा मनिएको पर्यटन उद्योगको आम्दानी भन्दा धेरै हो। गत वर्ष पर्यटनबाट ४६ अर्ब रुपैयाँ प्राप्त भएको थियो भने आईटबाट ६० अर्ब रुपैयाँ नेपाल भित्रिएको तथ्यांक उनले संसदमा उजागर गरे।
यस्ता क्षेत्रबाट पनि विदेशी मुद्रा व्यापक आर्जन गर्न सकिने उनले बताए। तर, ऐन तथा नियममा भएका कुराहरूलाई सुधार गर्दै जानुपर्ने उनको भनाइ छ।
नेपाललाई आईटीको हब बनाउन सकिने नेपाली कांग्रसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।
गाउँको दूरदराजमा एउटा कम्प्युटर राखेर महिनाको दुई, तीन लाख रुपैयाँ कमाउने सक्ने सम्भावना रहेको तर्फ पनि उनले सरकारको ध्यान केन्द्रित गरे। आईटी र कम्प्युटर साइन्सलाई हामीले प्रमुख प्राथमिकतामा राख्नु आजको आवश्यका भएको उनको भनाइ छ।
प्रकाशित: ५ असार २०८०, मंगलवार