दक्षिण कोरियाली ‘क्रिप्टो क्र्यास किंङ’ डो क्वोनलाई चार महिनाको जेल

  • Technology Khabar | ५ असार २०८०, मंगलवार

काठमाडौं ।

क्रिप्टोकरेन्सी मालिक डो क्वोनलाई मोन्टेनेग्रोमा चार महिनाको जेल सजाय सुनाइएको छ। टेरायूएसडी र लुना टोकनको ४० बिलियन अमेरिकी डलर पतन हुनुको पछि क्वोनको भूमिकालाई मुख्य मानिएको छ।

क्वोनलाई आधिकारिक कागजात किर्ते गरेको आरोपमा दोषी ठहर गरिएको बीबीसीले उल्लेख गरेको छ।

उनलाई मार्चमा मोन्टेनेग्रोको राजधानी पोडगोरिका विमानस्थलबाट दुबई उड्ने प्रयास गर्दा पक्राउ गरिएको थियो।

गत वर्ष दुई डिजिटल टोकनको पतनमा क्वोनले अमेरिका र दक्षिण कोरियामा पनि आरोपको सामना गर्नुपरेको छ।

क्वोनको कम्पनी टेराफर्म ल्याब्सका पूर्व वित्त अधिकारी हान चाङ-जुनलाई पनि सोही आरोपमा दोषी पाइएपछि चार महिनाको जेल सजाय सुनाइएको थियो।

मेमा अदालतको पहिलो सुनुवाईमा क्वोन र हानले दोषी नभएको स्वीकार गरेका थिए।

मार्चमा गिरफ्तार गरिसकेपछि क्वोन र हानले हिरासतमा बिताएका समय समावेश हुने अदालतले विज्ञप्तिमा भनेको छ।

उनीहरूले अदालतबाट लिखित सूचना पाएको आठ दिनभित्र फैसलाविरुद्ध पुनरावेदन गर्न सक्नेछन्।

फेब्रुअरीमा अमेरिकी नियामकहरूले क्वोन र उनको कम्पनी टेराफर्म ल्याब्सलाई ‘बहु–अरब डलरको क्रिप्टो सम्पत्ति प्रतिभूति ठगी’ को आरोप लगाएको थियो।

‘हामीले आरोप लगाउँछौं कि टेराफम र क्वोनले क्रिप्टो सम्पत्ति सेक्युरिटीहरूको, विशेष गरी लुना र टेरायूएसडीको लागि आवश्यक पूर्ण, निष्पक्ष, र सत्यतापूर्ण खुलासा जनतालाई प्रदान गर्न असफल भयो,’ अमेरिकी सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) का अध्यक्ष ग्यारी जेन्सलरले एक विज्ञप्तिमा भने।

गत वर्ष, दक्षिण कोरियाली अदालतले क्वोन र यस मुद्दामा संलग्न अन्य पाँच व्यक्तिहरूको लागि पक्राउ पुर्जी जारी गरेको थियो।

अभियोजनकर्ताहरूले सिङ्गापुरमा दर्ता भएको टेराफर्म ल्याब्सले पूँजी बजारको नियम उल्लंघन गरेको विश्वास गरेका छन्।

मोन्टेनेग्रोसँग अमेरिका वा दक्षिण कोरियासँग सुपुर्दगी सन्धि छैन।

टेरायूएसडी स्टेबलकोइन र सम्बन्धित लुना टोकनको पतनले मे २०२२ मा क्रिप्टोकरेन्सी बजार ठूलो हलचल मच्चिएको थियो।

प्रकाशित: ५ असार २०८०, मंगलवार

तपाइको प्रतिक्रिया