आर्क जीरो इलेक्ट्रिक क्वाड्रिसाइकल बेलायतमा अनावरण

  • Technology Khabar | ५ असार २०८०, मंगलवार

काठमाडौं ।

बेलायतको सबैभन्दा सस्तो इलेक्ट्रिक भेहिकलको रुपमा आर्क जीरो इलेक्ट्रिक क्वाड्रिसाइकल सार्वजनिक भएको छ। सिट्रोन अमीको प्रतिस्पर्धी र कडा प्रतिद्वन्द्वीको रूपमा प्रस्तुत गरिएको आर्क जीरो इलेक्ट्रिकको मूल्य एकदमै सस्तो भएको उल्लेख छ। क्वाड्रिसाइकलको लन्चले हालको अवस्थामा यसलाई बेलायतको सबैभन्दा किफायती विद्युतीय गाडी बनाएको छ ।

बेलायतको पहिलो अल–इलेक्ट्रिक कार कम्पनी आर्कद्वारा उक्त नयाँ इलेक्ट्रिक क्वाड्रिसाइकलको डिजाइन र निर्माण गरिएको हो। कम्पनीले बेलायतको क्लिनर (सफा) र सस्टेनिबिलिटि–केन्द्रित ट्रान्सपोर्टेसन सलुसन्स (स्थायित्व केन्द्रित यातायात समाधानहरू) को ट्रान्जिसनलाई अघि बढाउने लक्ष्य राखेको उल्लेख छ। आर्क जीरो ९८.४*४७.३*६४ इन्च लम्बाइ, चौडाइ र उचाइको आयाम भएको सानो ईभी गाडी हो। यस कम्प्याक्ट ईभीमा ६७.७ इन्चको ह्वीलबेस रहेको र यसको बडीवर्क र चेसिसलाई सिङ्गल यूनिटमा एकीकृत गरिएको छ।

आर्क जीरोको चेसिस पूर्णतया एल्युमिनियमबाट बन्नुका साथै मोनोकोक निर्माणले यसको कठोरता र सुरक्षा थपेको उल्लेख छ। जिरोमा चालक र पछाडिको सिटमा एकजना यात्रु गरी कुल दुई जना मात्रै बस्न मिल्नेछ। यसको तौल ४८९ किलोग्राम रहेको छ। आर्क जीरो कालो, सेतो, ग्रे (खरानी) र रातो गरी चार कलर भेरियन्टहरू उपलब्ध हुने उल्लेख गरिएको छ।

आर्क जीरोको ८० किलोमिटरको रेञ्ज (दायरा) र ४५ किलोमिटर प्रति घन्टाको उच्च गति रहेको उल्लेख छ। यसमा ३एचपी मोटर र ८०एएच लिथियम–आयन ब्याट्री समावेश गरिएको छ। यद्यपी ईभी हाल बेलायतका लागि मात्र उपलब्ध हुने बताइएको छ।

आर्क जीरोको मूल्य ५,९९५ पाउण्ड स्टर्लिङ (७,६५० डलर) रहेको र यो ईभी सिङ्गल स्पेसिफिकेसनमा उपलब्ध हुने गीज्मोचाइनाले रिपोर्टमा उल्लेख गरेको छ।

प्रकाशित: ५ असार २०८०, मंगलवार

तपाइको प्रतिक्रिया