
काठमाडौं ।
विश्वको सबैभन्दा ठूलो इलेक्ट्रिक भहिकल निर्माता बीवाईडीले युरोपमा आफ्नो पहुँच विस्तार गर्दैछ। एशियाको इलेक्ट्रिक भहिकल बजारमा पहिले देखि नै एक प्रमुख खेलाडीको रुपमा परिचित कम्पनीको चीनमा बलियो उपस्थिति रहनुका साथै टेस्ला जस्ता प्रमुख प्रतिस्पर्धीहरूलाई पनि पछि पारेको उल्लेख छ।
हाल ईभी निर्माताले पोल्याण्डमा ईटीपी ३ प्यानल भ्यान, ईटीएम ६ कार्गो ट्रक र ईटीएच ८ ट्रक गरी कुल तीन ओटा नयाँ इलेक्ट्रिक भेहिकल्स (विद्युतीय गाडीहरू) लन्च गरेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
बीवाईडीको ईटीपी३ प्यानल भ्यान, ईटीएम६ कार्गो ट्रक र ईटीएच८ डिस्ट्रिब्युसन ट्रक इन्टर कार्ससँगको साझेदारी मार्फत पोल्याण्डमा उपलब्ध हुने कम्पनीले घोषणा गरेको छ। इन्टर कार्स मध्य र पूर्वी यूरोपमा सबैभन्दा ठूलो अटोमोटिभ पार्ट्स डिस्ट्रिब्युटर भएको उल्लेख छ। साथै यस साझेदारी सँगै इन्टर कार्स पोल्याण्डमा बीवाईडीको इलेक्ट्रिक ट्रक र भ्यानहरूको लागि राष्ट्रिय डिलर बन्ने उल्लेख गरिएको छ।
त्यसै गरी उक्त तीनवटै सवारी साधनहरु शून्य उत्सर्जन हुनुका साथै सवारी साधनहरुमा बीवाईडीको नयाँ ब्याट्री प्रविधि फिचर गरिएको उल्लेख छ। साथै बीवाईडीको सवारी साधनहरुमा टक्करबाट बच्ने प्रणाली (कोलिसन एभोइडेन्स सिस्टम्स) र लेन डिपार्चर वार्निङ्ग प्रणालीहरू सहित विभिन्न सुरक्षा सुविधाहरू समावेश गरिएका छन्।
पोल्याण्डमा बीवाईडीको इलेक्ट्रिक ट्रक र भ्यानको उपलब्धता कम्पनीको लागी एक महत्वपूर्ण माइलस्टोन भएको र कम्पनीले युरोपमा आफ्नो उपस्थितिको विस्तार जारी राखेको उल्लेख गरिएको छ। साथै इन्टर कार्ससँगको साझेदारीले बीवाईडीलाई पोल्याण्ड र मध्य र पूर्वी युरोपका अन्य बजारहरूमा विद्युतीय सवारी साधनहरू अपनाउनको लागि मद्दत गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: ४ असार २०८०, सोमबार