
काठमाडौं ।
होन्डा मोटर कम्पनीको एयरक्राफ्ट डेभलपमेन्ट आर्म (विमान विकास शाखा)ले २०२८ सम्ममा नयाँ कम्प्याक्ट बिजनेस जेट लन्च गर्ने योजनाको घोषणा गरेको छ।
अटोमेकरको अमेरिकामा रहेको विमान निर्माण इकाई ‘होन्डा एयरक्राफ्ट कम्पनीले’ उक्त नयाँ जेट विकास गरिरहेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
मंगलबार जुन १३ मा कम्पनीले बिजनेस (व्यावसायिक) जेटको विकासमा प्रगति गरिरहेको घोषणा गरेको उल्लेख छ। साथै कम्पनीले उडान सञ्चालनका लागि अमेरिकन एभिएसन अर्थोरिटिज (अमेरिकी उड्डयन प्राधिकरण)को प्रमाणपत्र प्राप्त गर्ने योजना बनाएको बताएको छ।
उक्त नयाँ जेट व्यावसायिक उत्पादन हुने र त्यसलाई लाईट जेटको रूपमा वर्गीकृत गरिएको उल्लेख छ। त्यसैगरी उक्त नयाँ होन्डा जेट हालको होन्डा जेट भन्दा ठूलो हुने उल्लेख गरिएको छ। धेरै लाईट जेट क्याटेगोरीमा पर्ने होन्डाजेटमा कुल आठ जनाको लागि मात्र सिट रहेको बताइएको छ।
नयाँ जेटमा सामान्य लाइट जेटको तुलनामा २० प्रतिशत थप इन्धन दक्षता रहने बताइएको छ। साथै नयाँ जेट रिफ्यूलिङ्ग नगरी उत्तर अमेरिकाभर उड्न सक्ने होन्डा एयरक्राफ्ट कम्पनीले बताएको छ। बजारमा प्रवेश गरेसँगै उक्त नयाँ जेट होन्डाको लाइट जेट श्रेणीमा पहिलो हुने बताइएको छ।
त्यसै गरी उक्त नयाँ जेट सन् २०२१ मा नवोदित विमान निर्माता कम्पनीले अनावरण गरेको होन्डाजेट २६०० कन्सेप्टमा आधारित रहेको उल्लेख गरिएको छ।
होन्डाले पछि अर्डर स्वीकार गर्ने समय र मूल्य निर्धारण सहित उक्त नयाँ जेटको बारेमा थप विवरणहरू जारी गर्ने बताइएको छ।
प्रकाशित: १ असार २०८०, शुक्रबार