दूरसञ्चार सेवाको गुनासो सम्बोधन गर्ने काममा प्रतिस्पर्धा गर्नुस् -सञ्चारमन्त्री शर्मा

  • Technology Khabar | ३२ जेष्ठ २०८०, बिहीबार
दूरसञ्चार सेवाको गुनासो सम्बोधन गर्ने काममा प्रतिस्पर्धा गर्नुस् -सञ्चारमन्त्री शर्मा
फाइल तस्विर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमलाई गुनासो सम्बोधन गर्ने काममा प्रतिस्पर्धा गर्न निर्देशन दिएकी छन्।

नेपाल दूरसञ्चार प्राधिकरणले दाङको लमहीमा आयोजना गरेको लुम्बिनी प्रदेशमा दूरसञ्चारको बर्तमान अवस्था समस्या समाधानका उपायहरु विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले सो निर्देशन दिएकी हुन्।

सेवाग्राहीको गुनासो समयमै सम्बोधन हुन नसक्दा नेपाल टेलिकमप्रति आक्रोश थपिएकाले अविलम्ब गुनासो सम्बोधन गरेर समस्या समाधान गर्नेगरी प्रदेशमा प्रतिस्पर्धा गर्न निर्देशन दिईन्। उनले भनिन, “उही पुरानै शैलिले हुँदैन, जनगुनासो सम्बोधन गरेर सेवाग्राहीको समस्या तत्काल हल गर्ने र तत्काल समाधान हुन नसक्ने खालका समस्या भएमा पूर्व सूचना गर्ने परिपाटी बसालौं। लागत र जनशक्तिको हिसावले यो काम त्यति ठूलो छैन।”

मन्त्री शर्माले सरकारको नीति तथा कार्यक्रममा सन् २०२३ सम्म नेपालका सबै ठाउँमा सञ्चार सुविधा लग्ने लक्ष्य लिएकाले लक्ष्य प्राप्तिका लागि समयतालिका बनाएर काम गर्न आवश्यक रहेको बताईन्।

पालिकाका केन्द्रसम्म मात्रै सञ्चार सुविधा लगेर नपुग्ने भन्दै उनले नेपालको कुना कन्दरा गाउँबस्तीमा सञ्चार सुविधा पुगाउन आवश्यक रहेको बताईन्। उनले भनिन्, “पातलो बस्ती छ, थोरै घर छन् भनेर हामी पन्छन मिल्दैन, सामाजिक उत्तरदायित्वको हिसावले पनि हामी सबैलाई सञ्चार सुविधा उपलव्ध गराउनु पर्छ, यो कामका लागि आजैदेखि समयतालिका वनाएर काममा लाग्नुस्।”

प्रदेश राजधानी जिल्ला भनेर चिनिने दाङको नाका क्षेत्र, बंगालाचुली र उपश्चिम दाङको गंगटे क्षेत्रमा अझै पनि टेलिफोन सेवा प्रभावकारी नभएको उनको भनाइ छ। मन्त्री शर्माले भनिन्, “हाम्रो राजधानीको जिल्लामा सञ्चार सुविधा पुग्न सकेको छैन, लुम्बिनीको पहाडी क्षेत्रमा समस्या झन बढी छ, सेवाग्राहीको गुनासो सुनेर हल गर्नेगरी गुणस्तरीय सेवा पुर्याउन आवश्यक छ।”

दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सरकारले लिएको लक्ष्यअनुसार प्राधिकरण आफ्नो काम अघि बढाउने प्रतिवद्धता जनाए।

कार्यक्रममा लुम्बिनी प्रदेशका नौ ओटा जिल्लाका दूरसञ्चार कार्यालय र जनप्रतिनिधिको सहभागिता थियो।

प्रकाशित: ३२ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार