शिक्षण सिकाइ क्रियाकलापमा प्रभावकारी बन्यो आइसिटी

  • Technology Khabar | ३२ जेष्ठ २०८०, बिहीबार
शिक्षण सिकाइ क्रियाकलापमा प्रभावकारी बन्यो आइसिटी
सांकेतिक तस्विर

काठमाडौं ।

शिक्षण सिकाइ क्रियाकलापमा आइसिटी (सूचना र सञ्चार प्रविधि)को प्रयोग प्रभावकारी देखिएको छ। झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित मोहनमाया माध्यमिक विद्यालयमा आइसिटीको प्रयोग गर्दै पठनपाठन गराउन सुरु गरेसँगै विद्यार्थीको चाप उच्च रहेको पाइएको हो।

व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट)मार्फत नेपाल सरकारले मोहनमाया माध्यमिक विद्यालयलाई आइसिटी कक्षा सञ्चालनका अनुमति प्रदान गरेसँगै अहिले सो विद्यालयमा प्रविधिको प्रयोग गर्दै पठनपाठन हुने गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७८/७९ देखि यो विद्यालयलाई आइसिटी कक्षा सञ्चालनका लागि आर्थिक सहयोग पुर्याएसँगै परम्परागतपठनपाठनको शैलीलाई परिमार्जन गर्दै स्मार्ट प्रविधिबाट पठनपाठन हुँदै आएको छ।

जसका कारण विद्यार्थीलाई सिकाउन र उनीहरूलाई बुझ्नसमेत सहज भएको विद्यालयका शिक्षक कविता सापकोटाले बताईन्। विद्युतीय उपकरण प्रयोग गर्दै प्रोजेक्टरको माध्यमबाट पठनपाठन गराउँदा शिक्षण सिकाइ क्रियाकलापमा विद्यार्थी बढी सक्रिय देखिने हुँदा शैक्षिक गुणस्तर अभिवृद्धिमा सहज भएको बताइएको छ।

इभेन्ट परियोजनाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ल्याप्टप, प्रोजेक्टर, सिसी क्यामरा, कम्प्युटर, डिभीआर, एलभीआरजस्ता विद्युतीय उपकरण खरिदमा सहयोग पुर्याएको छ।

मोहनमाया मावि जिल्लाकै नमूना विद्यालयमध्येमा पर्छ। यो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या एक हजार सात सय छ।

इभेन्ट परियोजनाले आइसिटी कक्षा सञ्चालनका लागि यो विद्यालयलाई रु.३० लाख ६२ हजार पाँच सय आर्थिक सहयोग गरेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले बताए। विद्यालयमा प्रविधिको प्रयोग गर्दै पठनपाठन हुन थालेपछि विद्यार्थी अध्ययनमा उत्साहित देखिएका हुन् । प्रविधिको अधिकतम् प्रयोग गर्दै पठनपाठन सुरु गरेसँगै यो विद्यालयमा अध्ययन गर्न निजी विद्यालय त्यागेर आउने विद्यार्थी धेरै छन् ।

आइसिटीको प्रयोग विशेष कक्षा (सुस्त श्रवण भएका विद्यार्थी ) सञ्चालनका लागि अझ बढी प्रभावकारी देखिएको छ । यो विद्यालयमा आवाससहित सुस्त श्रवण भएका विद्यार्थीलाई समेत पठनपाठन गराइने गरिएको छ।

प्रकाशित: ३२ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार