
काठमाडौं ।
कमजोर पासपोर्टका कारण नेपाली ह्याकरहरु साइबर सेक्युरिटी सम्मेलनामा सहभागी हुनबाट बञ्चित भएका छन्।
दक्षिण कोरियामा आयोजना हुन लागेको साइबर सेक्युरिटी सम्मेलनमा सहभागी हुनबाट तीन नेपाली ह्याकर बञ्चित भएका हुन्।
फेसबुकले साइबर सेक्युरिटी सम्मेलनका नेपालका सौगात पोखरेल, रिकेश बानियाँ र जीटीएम मनोजलाई निमन्त्रण गरेको थियो।
सम्मेलनमा सहभागी हुनका लागि आवश्यक सबै प्रक्रिया पुरा गर्दा नेपालको पासपोर्ट कमजोर भएकाले भिसा प्राप्त गर्न नसकिएको भन्दै इथिकल ह्याकर सौगात पोखरेलले फेसबुकमा पोस्ट गरेका छन्।
विश्व पासपोर्ट इन्डेक्समा विश्वको तल्लो १० मध्येमा नेपाल रहेकाले कार्यक्रममा सहभागी हुन आवश्यक पर्ने भिसा अस्वीकार भएको पोखरेलको दाबी छ।
उक्त सम्मेलनका लागि २५ भन्दा बढी मुलुकका ६० भन्दा बढी अनुसन्धानकर्तालाई आमन्त्रण गरिएको थियो। ती मुलुकमध्ये नेपालको मात्र भिसा आवदेन अस्वीकृत भएको उनको भनाई छ।
भिसा अस्वीकृत हुँदा फेसबुक, गुगल र क्वालकमका समकक्षी अनुसन्धानकर्ताहरुसँग भेट्ने मौका गुमेकोमा पोखरेलले फेसबुकमा दुखेसो पोखेका हुन्।
निकट भविष्यमा नेपालको पासपोर्टले विश्वास प्राप्त गर्ने र नागरिकहरुले विश्का विभिन्न देशहरुमा सहज रुपमा प्रवेश पाउन सक्ने उनले आशा व्यक्त गरेका छन्।

प्रकाशित: ३१ जेष्ठ २०८०, बुधबार