प्रहरीलाई सामाजिक सञ्जाल प्रयोगमा कडाई, जथाभावी गरेमा कार्यालय प्रमुखलाई समेत कारबाही

  • Technology Khabar | ३० जेष्ठ २०८०, मंगलवार
प्रहरीलाई सामाजिक सञ्जाल प्रयोगमा कडाई, जथाभावी गरेमा कार्यालय प्रमुखलाई समेत कारबाही
सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।

काठमाडौं ।

नेपाल प्रहरीले आफू मातहतका प्रहरी कर्मचारीहरुलाई सामाजिक सञ्जालको प्रयोगमा कडाइ गरेको छ।

प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत सुपरिवेक्षण तथा अनुगमन महाशाखाले परिपत्र जारी गर्दै सबै प्रहरी कर्मचारीहरुलाई सामाजिक सञ्जाल गाइडलाइन पालना गर्न कडा निर्देशन दिएको हो।

सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्ने गाइडलाइन विपरीत फेसबुक, ट्विटर, युट्यूब, टिकटक लगायतमा पोस्ट, सेयर, ट्याग, कमेन्ट, लिंक शेयरिङ्ग ट्वीट तथा रिट्वीट नगर्ने भनी पटक-पटक जानकारी गराउँदा पनि गरेपछि प्रहरी मुख्यालयले चेतावनीसहितको निर्देशन जारी गरेको हो।

प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश, २०७७ विपरीत यी कार्यहरू पुनरावृत्ति भए/गरेको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई समेत विभागीय कारबाही हुने चेतावनी समेत दिइएको हो।

हालपनि केहि प्रहरी कर्मचारीहरुले प्रहरी पोशाक प्रयोग गरी कार्यालय, ब्यारेक, कार्यकक्ष, तालिमको गतिविधि, नाँचगान, कार्य क्षेत्रमा खटिई सम्पादन हुने गरेका गतिविधि/क्रियाकलाप लगायत अन्य गतिविधि/ क्रियाकलापको भिडियो/फोटो बनाई /खिचि सामाजिक सञ्जाल फेसबुक, ट्विटर, युट्यूब, टिकटक लगायतमा पोस्ट, सेयर, ट्याग गर्ने जस्ता कार्यहरु भइरहेको पाइएकोले यस महाशाखाको गम्भीर ध्यानाकर्षण भएको छ,’ परिपत्रमा भनिएको छ, “सम्बन्धित आदेश श्रृंखला (Chain of Command) को तल्लो प्रहरी इकाईका कार्यालय प्रमुख/इन्चार्ज समेतले बिशेष चासो लिई उल्लेखित कार्यहरु नियन्त्रण गर्नु/गराउन हुन र विभागीय आदेश/निर्देशनको बर्खिलाप गरी सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्ने गाइडलाइन्स विपरीतको कार्यमा संलग्न प्रहरी कर्मचारी उपर हदै सम्मको विभागीय कारवाही गर्न/गराउन हुन निर्देशानुसार अनुरोध गरिएको छ।

यसैगरी सुपरीवेक्षकीय कार्यालयबाट आ-आफनो मातहतका प्रहरी कर्मचारीबाट विभागीय आदेश/निर्देशनको परिपालना भए/नभएको समेत अनुगमन गरी कार्यान्वयनतर्फ पहल गर्न/गराउन समेत निर्देशन दिइएको छ।

साथै प्रहरी आचरण/ नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी कार्यादेश, २०७७ विपरीतका कार्यहरु पुनरावृति भए/गरेको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई समेत जिम्मेवार बनाई विभागीय कारवाही गर्ने चेतावनी दिएको छ।

प्रकाशित: ३० जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार