काठमाडौं ।
इलेक्ट्रिक सवारीको मोटर पावर घटाएर न्यून्तम भन्सारको उपयोग गर्ने प्रवित्ति मौलाएकाले यसलाई रोक्न करको दरमा हेरफेर गरिएको अर्थमन्त्री डा. प्रकाशसरण महतले बताएका छन्।
सोमबार प्रतिनिधि सभाको बैंठकमा सांसदहरुले बजेटका सम्बन्धमा उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्रीले डा. महतले यस्तो बताएका हुन्।
चालु आर्थिक वर्ष २०७९/८० बजेटमा १०० किलोवाट मोटर क्षमताका भएका ईभीमा १० प्रतिशत भन्सार शुल्क मात्रै लाग्ने व्यवस्था छ। तर आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत अर्थमन्त्री डा. महतले ५० देखि १०० किलोवाट मोटर क्षमताको ईभीमा १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेका छन्।
ईभीको मोटर क्षमतालाई २५ प्रतिशतसम्म तल माथि गर्न सकिन्छ। १२५ किलोवाट मोटर क्षमताका ईभीलाई पनि १०० किलोवाट मोटर क्षमतामा घटाएर भन्सार छुटको लाभ लिइरहेका छन्, उनले भने, यसलाई रोक्नका लागि करको दरमा हेरफेर गरिएको हो।
विगतमा ईभीलाई ४ वर्गमा विभाजन गरेर कर लिने गरिन्थ्यो। आगामी आर्थिक वर्षको बजेटमा भने ५ वर्गमा विभाजन गरिएको छ। बजेटमा ० देखि ५० किलोवाटको नयाँ वर्ग थपिएको छ।
नयाँ व्यवस्था अनुसार ० देखि ५० किलोवाटसम्म १० प्रतिशत भन्सार महशुल लगाइएको छ। यस्तै ५० देखि १०० किलोवाटसम्म १५ प्रतिशत भन्सार महशुल तथा १० प्रतिशत अन्तःशुल्क, १०० देखि २०० सम्म २०/२० प्रतिशत भन्सार र अन्तशुल्क, ३०० भन्दा माथिको ४० प्रतिशत भन्सार र ४५ प्रतिशत अन्तशुल्क, ३०० भन्दा माथि साविक बमोजित नै करको व्यवस्था गरिएको छ।
प्रकाशित: २९ जेष्ठ २०८०, सोमबार