चीनका कम्पनीलाई कामको गुणस्तरमा पनि ध्यान दिन सञ्चार मन्त्रीको आग्रह

  • Technology Khabar | २७ जेष्ठ २०८०, शनिबार
चीनका कम्पनीलाई कामको गुणस्तरमा पनि ध्यान दिन सञ्चार मन्त्रीको आग्रह

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले छिमेकी देशको सम्पन्नताबाट नेपालले लाभ लिन चाहेको बताएकी छन्। नेपालका लागि चिनियाँ राजदूत छन सोङसँग मन्त्रालमा भएको दुई पक्षीय भेटवार्ताका क्रममा मन्त्री शर्माले नेपाल र नेपाली जनताको हितमा अन्तर्राष्ट्रिय समुदायबाट हुने सहयोगको सँधै स्वागत गर्ने बताईन्।

नेपाल र चीनबिच घनिष्ठ छिमेकीको सम्बन्ध रहेको उल्लेख गर्दै उनले सूचना र प्रविधिको क्षेत्रबाट समृद्धि हासिल गर्ने नेपालको प्राथमिकता भएकाले छिमेकीलगायत अन्तर्राष्ट्रिय समुदायबाट यसमा आउने सहयोग स्वागतयोग्य हुने बताईन्।

आफूहरुले आफ्नै भूउपग्रहको विकास गर्ने, फोरजी इन्टरनेट सेवा देशब्यापीरुपमा विस्तार गर्दै फाइभजी सेवाको तयारी गर्ने, सूचना प्रविधि विश्वविद्यालय स्थापना गर्ने र सबै प्रदेशमा आइटी पार्क बनाउने प्राथमिकता निर्धारण गरेको उल्लेख गर्दै मन्त्री शर्माले प्रविधिको क्षेत्रमा सम्पन्नता हासिल गरिसकेका चीनसहित अन्तर्राष्ट्रिय समुदायले यसमा सहयोग गर्नसक्ने बताईन् ।

नेपाल सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत सूचना प्रविधि, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकताको क्षेत्र निर्धारण गरेको पनि उनले स्मरण गराईन्। विकासोन्मुख र भूपरिवेष्ठित राष्ट्र नेपालमा सूचना प्रविधिबाट आर्थिक सम्पन्नता हासिल गर्न सकिन्छ विश्वास वृद्धि हुँदै गएको उल्लेख गर्दै उनले सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि सम्पन्न देशहरुसँग ज्ञान र सिपको आदानप्रदान गर्न चाहेको बताईन्।

सूचना प्रविधिसँग सम्बन्धित चीनका धेरै कम्पनीले नेपालमा काम गरिरहेको उल्लेख गर्दै उनले यसको गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताइन्।

सूचना प्रविधिसँगै आम सञ्चारको क्षेत्रमा पनि चीनको सहयोग महत्वपूर्ण रहँदै आएको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, ‘पत्रकारिताको अध्ययन, ज्ञान र सिपको आदानप्रदानमा नेपाल र चीनको सहकार्य हुँदै आएको छ, यसमा अझै वृद्धि गर्नुपर्छ भन्ने लागेको छ।’

नेपाल प्राकृतिकरुपमा विश्वकै सुन्दर मुलुक भएकाले चलचित्र क्षेत्रको पनि विकास गर्न सकिने प्रशस्त संभावना रहेको उल्लेख गर्दै उनले फिल्म सिटी निर्माणको सवालमा पनि चीनले सहयोग गर्नसक्ने बताईन्।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले सूचना प्रविध र सञ्चारको क्षेत्रमा नेपालको प्राथमिकता जानकारी भएकाले धेरै क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताए। दुबै देशको आर्थिक उन्नतिबाट यहाँका जनताले लाभ लिनसक्ने भन्दै उनले चीनले दूरसञ्चार क्षेत्रमा गरेको प्रगतिबाट नेपालले लाभ लिनसक्ने बताए। चीनमा कुनै सरकारी कार्यालयमा जाँदा कागज वा कार्ड बोक्नुपर्ने अवस्था नरहेको र सबै काम मोबाइलबाटै हुने उल्लेख गर्दै उनले यसबाट नेपालले पनि फाइदा लिनसक्ने बताए।

डाटा एप्लिकेसनको क्षेत्रमा चीनले विश्वमै अगुवाई गरिरहेको उल्लेख गर्दै उनले नेपालले पनि प्रविधिको माध्यमबाट विकास र सुशासनको क्षेत्रमा आफूलाई अघि बढाउनसक्ने बताए। नेपालको नयाँ पुस्तामा डिजिटल वर्ल्ड तयार गर्न सके यसबाट यहाँको समृद्धिको ढोका खुल्ने पनि राजदूत सोङको विश्वास थियो । उनले प्रविधिसहित विविध क्षेत्रमा चीन नेपाललाई सहयोग गर्न तयार गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

भेटमा दुबै देशका अधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित: २७ जेष्ठ २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार