काठमाडौंमा ५ दिने कार्यशाला आयोजना गर्दै एनपीनग

  • Technology Khabar | २६ जेष्ठ २०८०, शुक्रबार
काठमाडौंमा ५ दिने कार्यशाला आयोजना गर्दै एनपीनग

काठमाडौं ।

नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) ले पाँच दिने कार्यशाला आयोजना गर्ने भएको छ। यही असार  ३  देखि ८ गतेसम्म सञ्चालन हुने कार्यशाला काठमाडौंको होटल रोयल सिङ्घी र होटल एलफ्टमा हुने भएको हो।

एनपी नग-एट (npNOG-8) नामक यो कार्यक्रम अन्तर्गत पाँच दिने कार्यशाला र १ दिने सम्मेलन आयोजना हुने छ। कार्यशालामा नेटवर्किङ एवम् सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा संलग्न व्यवसायिक विज्ञहरूबाट दुई ओटा विषयगत क्षेत्रमा तालिम सञ्चालन गरिने आयोजकले जनाएको छ।

इन्टरनेट एक्सचेञ्ज नेपाल (एनपीआईएक्स) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) ले उक्त कार्यशाला संयुक्त रुपमा सञ्चालन गर्ने छन्। जसमा नेटवर्क सेक्युरिटी, अप्टिकल फाइबर नेटवर्क एन्ड इन्फ्रास्टक्चर र बीजीपी एन्ड आईपीभीसिक्स डिप्लोयमेन्ट जस्ता विषय रहेका छन्।

कार्यक्रमको अन्तिम दिन सम्मेलन आयोजना हुनेछ र उक्त कार्यक्रममा आईटी सम्बन्धी विज्ञहरूले आ-आफ्ना कार्यपत्र प्रस्तुत गर्ने छन् । उक्त तालिम कार्यक्रममा सूचना सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत करीब १५० जना भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ।

एनपीआईएक्सका प्रबन्ध निर्देशक रुपेशभक्त श्रेष्ठका अनुसार यो कार्यक्रमले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लागेका समुदायको पारस्परिक ज्ञान आदान प्रदानमा सहयोग पुग्नेछ। “कार्यशालामा व्यवसायिक विज्ञहरूले स्वयंसेवाको रूपमा तालिम दिनेछन्,” कार्यक्रमको बारेमा जानकारी दिँदै श्रेष्ठले भने।

एनपी नगका अध्यक्ष समित जनले वर्षको दुई ओटा कार्यक्रम गर्ने गरेको बताए। “हामीले एउटा काठमाडौंमा र अर्को काठमाडौं बाहिर आयोजना गर्ने गरेका छौं,” उनले भने।

जनले देशको लागि सक्षम व्यावसायिक प्रावधिक जनशक्ति तयार पार्ने कार्यमा एनपी नगको भूमिका सधैं उच्च रहने प्रतिबद्धता जनाए।

कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिले https://npnog.org.np/npnog8/registration मा गएर रजिस्ट्रेसन गर्न सक्ने छन् । कार्यशाला र सम्मेलन दुवैमा सहभागिताका लागि रजिस्ट्रेसन शुल्क २० हजार रुपैयाँ (विदेशीका लागि २०० अमेरिकी डलर) निर्धारण गरिएको छ।

त्यस्तै कार्यशालाका लागि मात्र १७ हजार रुपैयाँ (विदेशीका लागि १५० अमेरिकी डलर) र सम्मेलनका लागि मात्र पाँच हजार रुपैयाँ (विदेशीका लागि ५० अमेरिकी डलर) रजिस्ट्रेसन शुल्क तिर्नुपर्नेछ।

प्रकाशित: २६ जेष्ठ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार