
काठमाडौं ।
तत्कालिन समयमा चर्चित भारतीय मोबाइल फोन कम्पनी माइक्रोम्याक्सका नेपालस्थित आधिकारिक विक्रेता नेटवर्क सोलुसनका दुई प्रबर्द्धकलाई कर्जा तिर्न ऋण असुली न्यायाधिकरणले आदेश दिएको छ।
समयमै कर्जा नतिरेपछि कालोसूचीमा परेको कम्पनी र त्यसका दुई संचालकहरुलाई बैंकको ऋण साँवा ब्याजसहितको रकम तिर्न भनेको छ।
नेटवर्क सोलुसनले करिब २०६८ साल देखि करिब २ वर्ष भारतीय कम्पनी माइक्रोम्याक्सको मोवाइल बिक्री गर्दै आएको थियो। यसका दुई प्रबर्द्धक राहुल सचदेव र जीवनराज कंडेल कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका थिए।
उनीहरुले नेटवर्क सोलुसनका लागि लिएको ऋण चुक्ता नगरेपछि उनीहरुलाई कर्जा सूचना केन्द्रले २०७० असारमा कालोसूचीमा राखेको थियो।
राहुल नेटवर्क सोलुसनका प्रवन्ध निर्देशक हुन् भने कंडेल कम्पनीका पूर्व प्रवन्ध निर्देशक हुन्।
उनीहरुले प्रभु बैंकको कर्जा नतिरेपछि बैंकले कम्पनी र संचालकहरुका विरुद्धमा ऋण असुली न्यायाधिकरण २०७४ सालमा कर्जा असुलीको लागि मुद्दा दायर गरेको थियो।
हाल करिब ६ वर्षपछि न्यायाधिकरणले सो मुद्दामा नेटवर्क सोलुसन प्रालि र त्यसका संचालकहरुका नाममा रकम तिर्न सात दिने सूचना जारी गरेको हो।
ऋण असुली मुद्दा (मु.नं. ३७१/०७४/७५) को सूचनामा प्रतिवादी कम्पनीका नाउँमा जारी गरी पठाइएको म्याद वेपत्ते व्यहोराबाट तामेल भई आएको उल्लेख छ।
“न्यायाधिकरणको मिति २०७७ मंसिर २२ गतेको निर्णय र मिति २०७९ चैत १२ गतेको आदेश अनुसार ठहरेको जम्मा रकम रू.३५ लाख ८२ हजार ४ सय छ्यालीस रूपैयाँ बाईस पैसा र दावी साँवा रकम रू.५ लाख ४९ हजार ६७६ रुपैयाँ ४५ पैसाको भरिभराउ हुने दिनसम्मको सम्मको व्याज यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र यस न्यायाधिकरणको ऋण असुली शाखामा बुझाउन आउनु होला। सो म्याद भित्र ऋणको साँवा ब्याज बुझाउन नल्याएमा कानून बमोजिम हुनेछ। यसमा पछि तपाईको कुनै उजुर लाग्ने छैन,” सूचनामा भनिएको छ।
जसअनुसार काठमाडौं महानगरपालिका वडा नं. २८ (साविक वडा नं. ३१) स्थित ऋणी नेटवर्क सोलुसन प्रालिका साथै संचालक जमानीकर्ता जीवनराज कडेल, संचालक तथा जमानतकर्ता राहुल सचदेव र व्यक्तिगत जमानीकर्ता झनक बहादुर रावलको नाममा ऋण रकम तिर्न भनिएको छ।
प्रकाशित: २६ जेष्ठ २०८०, शुक्रबार